काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा पुस १९ गतेका लागि बोलाइएको छ । बैंकको मंसिर २३ गते सबेको सञ्चालक समितिको बैठकले १६ औँ वार्षिक साधारणसभा पुस १९ गते शुक्रबारका लागि बोलाएको हो ।
साधारणसभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि सभा सुरु हुनेछ । बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारितका लागि सभामा पेश गर्नेछ ।
त्यस्तै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
त्यसैगरी अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा पुस २ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्