काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्मा वाणिज्य बैंकहरुको नाफा २२ अर्बभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार कात्तिक महिनामा मात्रै वाणिज्य बैंकहरुले ६ अर्ब १० करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् । यो असोज नहिनाको तुलनामा ३७.७४ प्रतिशतले धेरै हो । बैंकहरुले असोज मसान्तसम्मको अवधिमा १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकको अवधिमा २० वाणिज्य बैंकमध्ये सबै भन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा नबिल बैक रहेको छ । कात्तिक महिनासम्ममा यो बैंकले २ अर्ब ६९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले असोज महिनाको तुलनामा कात्तिक महिनामा ३०.८५ प्रतिशत बढी नाफा कमाएको छ । कात्तिक महिनामा मात्रै बैंकको नाफा ६३ करोड ४४ लाख रुपैयाँ कमाएको छ ।
सर्वाधिक नाफा गर्ने दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा २ अर्ब ११ करोड ४० लाख रुपैयाँ कमाएको छ । त्यस्तै, कात्तिक मसान्तसम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको छ । कात्तिक मसान्तसम्ममा प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार यो अवधिमा कुमारी बैंकले १ अर्ब ५९ करोड रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ५० करोड ९३ लाख, एनएमबि बैंकले १ अर्ब ४८ करोड ३२ लाख र प्रभू बैंकले १ अर्ब २३ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् । त्यस्तै यो अवधिसम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड ७३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले १ अर्ब ७१ लाख रुपैयाँ नाफा कमाएका छन् ।
त्यस्तै कात्तिक मसान्तसम्ममा नेपाल बैंकले ९३ करोड ८८ लाख रुपैँया, हिमालयन बैंकले ९१ करोड ८८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख र सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका छन् । कात्तिक मसान्तसम्ममा सानिमा बैंकले ६५ करोड १३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख रुपैयाँ, सिटिजन बैंकले ४३ करोड ८६ लाख रुपैयाँ र एनआइसी एशिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका छन् ।
तथ्यांक अनुसार कात्तिक मसान्तसम्ममा १९ वटा वाणिज्य बैंकको नाफामा उल्लेख्य सुधार हुँदा कृषि विकास बैंकको नाफा भने ऋणात्मक रहेको छ । यो अवधिसम्ममा कृषि विकास बैंकको नाफा २२ करोड ७७ लाख रुपैयाँले ऋणात्मक रहेको हो ।






प्रतिक्रिया दिनुहोस्