काठमाडौं । पछिल्लो सयम नेपालको अर्थतन्त्र विस्तारै सुधारोन्मुख देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिएको हो ।
चालु आर्थिक वर्षको चार महिनाको अवधिमा बाह्य क्षेत्र बलियोभन्दा आन्तरिक क्षेत्र भने केही कमजोर देखिएको छ । राष्ट्र बैंकको अनुसार चार महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, वैदेशिक लगानी, बैंकिङ प्रणालीलगायत सूचकमा सुधार देखिएको छ । २०८१/८२ को आर्थिक वर्षको कात्तिक महिनासम्मका विभिन्न आर्थिक सूचकांकहरूको विकासले नेपालको समग्र अर्थतन्त्रको सुदृढीकरणमा योगदान पुर्याएको छ ।
नेपालको अर्थतन्त्र सधैं विदेशी स्रोतबाट प्रभावित हुँदै आएको छ । विशेष गरी विप्रेषण, विदेशी व्यापार र वैदेशिक लगानी, यी सबै प्रमुख कारकहरू देशको आर्थिक विकास र स्थिरतामा ठूलो प्रभाव पार्छन् । नेपालमा विदेशबाट आउने रकमले केवल नागरिकहरूको जीवनस्तरलाई मात्र होइन, समग्र अर्थतन्त्रको प्रवाहलाई पनि सकारात्मक बनाउँछ । यसकारण विप्रेषण र वैदेशिक रोजगारीको स्थितिलाई समग्र अर्थतन्त्रको एक मुख्य चालकको रूपमा हेर्न सकिन्छ ।
नेपालको आर्थिक संरचनामा कृषि, पर्यटन र निर्माण क्षेत्रहरू प्रमुख आधारका रूपमा रहेका छन्, जसले देशको जीडीपीमा महत्वपूर्ण योगदान पुर्याउँछन्। यद्यपि, यी क्षेत्रहरूमा केही चुनौतीहरू पनि देखिएका छन् । कृषि क्षेत्रमा अस्थिरतासँगै पर्यटन र निर्माण क्षेत्रमा पनि विभिन्न समस्याहरू छन् । यी समस्यामा सबैभन्दा ठूलो चुनौती भनेको वैश्विक र स्थानीय अर्थतन्त्रको अस्थिरता र प्राकृतिक विपत्तिहरूको जोखिम हो । तथापि, नेपाल सरकार र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले यी समस्याहरूको समाधानका लागि विभिन्न पहलहरूको कार्यान्वयन गर्दै आएका छन्, जसका कारण केही सुधार देखिएको छ ।
रेमिट्यान्स
समीक्षा अवधिमा नेपालमा विप्रेषण प्रवाह ९.१ प्रतिशतले वृद्धि भइ ५ खर्ब २१ अर्ब ६३ करोड पुगेको छ । यस अवधिमा विप्रेषण प्रवाहको वृद्धि अघिल्लो वर्षको तुलनामा कम भएको छ, जहाँ २२।५ प्रतिशतको वृद्धि भएको थियो । अमेरिकन डलरमा हेर्दा, विप्रेषण प्रवाह ३ अर्ब ८७ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ६० करोडभन्दा बढी हो । यसले विदेशबाट नेपालमा आउने रकममा वृद्धि र देशको आर्थिक अवस्थामा स्थिरता ल्याएको छ ।
समीक्षा अवधिमा खुद द्वितीय आय ५ खर्ब ६८ अर्ब २६ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ५ खर्ब २१ अर्ब ४३ करोडभन्दा बढी हो । यसले नेपाली परिवारहरूले विदेशबाट प्राप्त रकमको प्रयोग आर्थिक गतिविधिहरूमा वृद्धि गरिरहेको देखाउँछ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ श्रमस्वीकृति लिने नेपालीहरूको संख्या १ लाख ४७ हजार ४७८ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः १ लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ थियो । वैदेशिक रोजगारीको वृद्धि र नेपाली श्रमिकहरूको विदेशमा अवसर प्राप्त गर्ने क्रमले देशको अर्थतन्त्रमा योगदान पुर्याउँछ ।
चालु खाता र शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । जुन अघिल्लो वर्षको ९७ अर्ब १० करोडको तुलनामा बढी हो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ६ लाखको बचतमा रहेको चालु खाता, समीक्षा अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको छ । यसले नेपालमा आर्थिक स्थिरता र सकारात्मक व्यापार सन्तुलनलाई देखाउँछ ।
शोधनान्तर स्थिति पनि सकारात्मक रहेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको छ । जुन अघिल्लो वर्षको १ खर्ब ५० अर्ब २४ करोडको तुलनामा अधिक छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडको बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले बढ्यो
नेपालको कुल विदेशी विनिमय सञ्चिति २०८१ कात्तिक महिनासम्म २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ, जुन १०.५ प्रतिशतले वृद्धि भएको हो । यसले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय सञ्चिति पनि बलियो बनाएको छ । अमेरिकी डलरमा यो सञ्चिति २०८१ असार महिनासम्म १५ अर्ब २७ करोड थियो, जुन २०८१ कात्तिक महिनामा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ । राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति २०८१ कात्तिक महिनासम्म ८.६ प्रतिशतले वृद्धि भइ २० खर्ब ८ अर्ब १५ करोड पुगेको छ । यसमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ । यसले नेपालको विदेशी विनिमय स्थिति र मुद्रा सन्तुलनमा स्थिरता कायम राख्न मद्दत पुर्याउँछ ।
सेवा खाता घाटामा
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा खुद सेवा आय २२ अर्ब ९५ करोड घाटामा रहेको छ । जुन अघिल्लो वर्षको २७ अर्ब ८९ करोडको तुलनामा कम भएको हो । यसमा भ्रमण आयको वृद्धि २.८ प्रतिशतले भई २६ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २५ अर्ब ८७ करोडको तुलनामा बढी हो । भ्रमण व्यय भने १०।३ प्रतिशतले वृद्धि भई ६१ अर्ब ९२ करोड पुगेको छ ।
निजी क्षेत्रतर्फको कर्जा प्रवाह
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ४७ करोडले बढेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा २.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.९९ अर्ब ४० करोडले बढेको थियो । यसले नेपालमा व्यावासिक क्षेत्रको विस्तार र आर्थिक गतिविधिहरूमा वृद्धि देखाउँछ ।
तरलता व्यवस्थापन
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप १ खर्ब ४९ अर्ब ८४ करोडले २।३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप १ खर्ब ५४ अर्ब ६१ करोडले २।७ प्रतिशतले वृद्धि भएको थियो । यसले बैंकिङ क्षेत्रको स्थिरता र निक्षेप संकलनमा वृद्धि जनाउँछ ।
महँगीे बढ्यो
चालु आर्थिक वर्षको चार महिनाको अवधिमा महँगी सामान्य बढेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ५.६० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो ५.३८ प्रतिशत थियो । विवरणअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.१० प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारीको मूल्य ३३.९९ प्रतिशतले उकालो लागेको छ । दाल तथा गेडागुडीको मूल्य १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य वस्तुको १०.१५ प्रतिशत, र घ्यू तथा तेलको ९.२९ प्रतिशतले वृद्धि भएको छ । तर, मरमसला उपसमूहको मूल्य १.४१ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १.२८ प्रतिशत र माछा तथा मासुको ०.०२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्