काठमाडौं । नेपाली बजारमा चिनियाँ ईभी जीएसई सार्वजनिक भएको छ । चिनियाँ अटो निर्माता कम्पनी जीएसई जाइलिङ ग्रुप (जेएमईभी)ले उत्पादन गरेको विद्युतीय कार जीएसई शुक्रबार लञ्च भएको हो ।
जगदम्बा ग्रुपअन्तर्गतको शौर्य अटोमोबाइल्स प्रालिले जेएमईभीको पहिलो मोडल सार्वजनिक गरेको हो । ‘जिएसई’ नामक यो नयाँ विद्युतीय सेडान कारको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
जिएसईमा ४९ किलोवाट आवरको ब्याट्री पाउन सकिनेछ । यसैगरी,यो नयाँ बिद्युतीय कारमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो कार एक पटक चार्ज गर्दा ४२० किलोमिटरसम्म कुद्ने दाबी गरिएको छ । यसैगरी, यसमा अग्लो ग्राउन्ड क्लिरियन्स १७० मिलिमिटर पाइनेछ भने प्यानारोमिक मुनरुफ, १०।२५ र १२।३ इन्चको पानारोमिक एचडी ड्यूल स्क्रिन पाउन सकिन्छ ।
यसका साथै, यो नयाँ विद्युतीय सेडान कारमा ३६० डिग्री क्यामरा, मिसिलिन टायर, सिल्भर हुक एलइडी हेडलाइट, कनेक्टेड इलेक्ट्रिक डोर ह्याण्डल, क्लोजअफ ग्रिल, एलइडी डेटाइम रनिङ लाइट लगायतका सुविधा पाउन सकिन्छ ।
सन् २०१५ मा जेएमईभी स्थापना भएको थियो । चीनको उद्योग र सुचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने यो पहिलो कम्पनी हो । अहिले, फ्रेन्च अटो निर्माता रेनोको पनि यो कम्पनीमा ५० प्रतिशत हिस्सा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्