काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको ४८औं साधारणसभाको उद्घाटन सत्रमा ईभीको विषयमा नै चर्चा गरे ।
संसारभर चर्चामा रहेको न्यू–इनर्जी भेहिकलको विषयमा प्रमुख अतिथिले ईभी अन्तिम विकल्प नभएको बताए । उनले भने, ‘विद्युतीय गाडीको भविष्य एकिन नभए पनि सरकारले पूर्वाधारमा काम गरिरहेको छ । अहिले विद्युतीय गाडीमा भएका ब्याट्रीको विषयमा चर्चा चलिरहेको छ । सर्भिसमा पनि समस्या छन् भन्ने बुझेको छु । तर, यी र यस्ता समस्याको निकास तपाईहरुले निकाल्नुपर्छ ।’
नाडा अध्यक्ष करण चौधरीले विद्युतीय साधनलाई गिजोल्ने काम भइरहेको बताउँदै भने, ‘हामी विद्युतीय सवारी साधन यहीँ परीक्षण गर्न सक्छौं । हामीले गर्ने परीक्षणलाई सरकारले मान्यता दिने कानुनी आधार तयार पार्नुपर्छ ।’
चारपाङ्ग्रे साधनमा ईभीको प्रयोग बढ्दै गएको भए पनि दुई पाङ्ग्रेमा विद्युतीकरण नभएको चौधरीले बताए। नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेसन थप गर्ने योजना अगाडि नबढाउँदा आउने दिनमा ईभीको भविष्यमा नै प्रश्न उठेको अध्यक्ष चौधरीको दाबी थियो ।
सभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजश्वमा सबैभन्दा धेरै सहयोग गर्ने क्षेत्रको व्यवस्थापनमा सरकारले ठोस काम गर्न नसकेको बताए । ‘राजश्वमा २० प्रतिशत हाराहारी हिस्सा ओगटेको अटोमोबाइल क्षेत्रलाई थप बलियो बनाउन नीतिगत सहयोग र पूर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्छ’, अध्यक्ष ढकालले भने ।
प्रतिक्रिया दिनुहोस्