काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफामा ३१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक महिनासम्मको आर्थिक अवस्थाअनुसार राष्ट्रिय स्तरका विकार बैंकहरुको नाफा ३१.४३ प्रतिशतले नाफा बढेको हो ।
कात्तिक महिनासम्ममा विकास बैंकहरुको नाफा २ अर्ब ३ करोड ११ लाख रुपैयाँ पुगेको छ । यो गत आवको कात्तिक मसान्तसम्मको तुलनामा ३१.४२ प्रतिशत अर्थात् ४८ करोड ५७ लाख रुपैयाँ बढी हो । गत आवको कात्तिक मसान्तसम्मको अवधिसम्ममा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा १ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।
केन्द्री बैंकको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । चार महिनामा मुक्तिनाथको नाफा ४२ करोड २४ लाख ९० हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा ३१ करोड ६० लाख ४० हजार रुपैयाँ रहेको थियो । त्यस्तै धेरै नाफा कमाउने दोस्रो विकास बैंकहरुमा गरिमा विकास बैंक रहेको छ । यो बैंकले ४ महिनामा ३६ करोड ८४ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत वर्ष कात्तिकसम्म गरिमाले २४ करोड ४ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।
कात्तिक महिनासम्ममा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ३५ करोड ४३ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा शाइनको यस्तो नाफा २५ करोड पाँच लाख २० हजार रुपैयाँ थियो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा ज्योति विकास बैंकले कुल ६६ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । ज्योति विकास बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ । बैंकले गत आवको कात्तिक महिनासम्ममा ११ करोड २० लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।
कामना सेवा विकास बैंकले २० करोड ४६ लाख ६० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन गत वर्ष कात्तिकसम्म कामनाले १७ करोड १० लाख ७० हजार रुपैयाँ कमाएको थियो । त्यस्तै महालक्ष्मी विकास बैंकले पनि चालु आवको कात्तिक मसान्तसम्ममा २० करोड १६ लाख रुपैैयाँ खुद मुनाफा कमाएको छ । गत वर्ष महालक्ष्मीको नाफा १७ करोड १५ लाख ९० हजार रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको नाफा चालु आवको कात्तिक मसान्तसम्ममा १३ करोड ६८ लाख ३० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा साँग्रिलाको यस्तो नाफा १० करोड २६ लाख ९० हजार रुपैयाँ थियो । लुम्बिनी विकास बैंकले पनि चालु आवको कात्तिक मसान्तसम्ममा २९ करोड ३७ लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा लुम्बिनीको यस्तो नाफा १८ करोड १० लाख १० हजार रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्