Skip to content

सबै तहका सरकार जनकेन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

nabil bank

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकार शासक नभई जनताकेन्द्रित एवं सेवामैत्री हुनुपर्नेमा जोड दिएका छन् ।

ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वर्तमान सरकार उत्तरदायी भएर जनताका समस्या समाधान तथा विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध भएर लागेको बताए ।

‘स्थानीय सरकार विगतको जस्तो कर उठाउनका लागि मात्र होइन, हाल यो नागरिक मैत्री पनि भएको छ, सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट विकृति हटाउने काम भएका छन्, व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने भाष्य गलत हो । सोचेअनुरुप विकास नभए पनि विकासको गति बढेको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

गरिबी घटाउन अधिक प्रयास भएको, सडक, पुलजस्ता भौतिक पूर्वाधार निर्माण गरिएका, जनताको जीवनस्तर उकास्न राज्यले हदैसम्म प्रयास गरेको, मुलुकको अर्थतन्त्रको आकार बढेको, वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि हुनाका साथै आम नेपालीको सरदर आयु ४२ वर्षबाट ७२ वर्ष पुगेकोलगायत विगतको तुलनामा मुलुकमा क्रमशः विकास–निर्माणका गतिविधिले गति लिएको प्रधानमन्त्रीले उल्लेख गरे ।

निरपेक्ष गरिबीको रेखामुनि २० प्रतिशत जनसङ्ख्या मात्र रहनु मुलुकका निम्ति उपलब्धि भएको उहाँको कथन थियो ।

प्रधानमन्त्रीले अनेकतामा एकता कायम गर्दै सामाजिक सद्भावका साथ समृद्धितर्फको यात्रामा लाग्नु समयको माग भएको बताए । उनले भने, ‘सबैको प्रयासबाट सबैका लागि साझा प्रगति हासिल गर्नुपर्छ, प्रगतिको यात्रा कहिल्यै टुंगिँदैन । सहाराविहीनहरुलाई भरणपोषणसहित आश्रयको व्यवस्था भएको छ । २०८२ सालभित्र देशलाई सडक मानवमुक्त बनाउँछौँ,’ राज्यले सामाजिक सुरक्षा प्रदान गरेको चर्चा गर्दै प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले नेवार संस्कृतिले भरिपूर्ण देशकै समृद्ध सांस्कृतिक सहर ललितपुर भएकाले यहाँका सम्पदाको संरक्षणका साथै सांस्कृतिक महत्वका स्थलको प्रबर्द्धन गरेर पर्यटन विकासमा योगदान गर्न सकिने बताए ।

प्रधानमन्त्रीले भाषासाहित्यको क्षेत्रमा योगदान गरेबापत प्राध्यापक शिवगोपाल रिसाल, २०७२ सालको भूकम्पका बेला उद्धारमा खटिएका नारायण महर्जन, व्यङ्ग्य चित्रकार मोहनश्याम महर्जन र नयाँ पत्रिका दैनिकका संवाददाता शिवहरि घिमिरेलाई सम्मान गरे।

त्यस अवसरमा सांसद प्रेमबहादुर महर्जनले सरसफाइ अड्डाका रूपमा स्थापना भएको कार्यालय हाल ललितपुर महानगरका रूपमा समृद्धितर्फको यात्रामा लागेको बताए । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले ‘डिजिटल’ माध्यमबाट सेवा प्रवाह गर्न सुझाव दिए।

महानगरप्रमुख चिरीबाबु महर्जनले उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण भइरहेको जानकारी दिए । उनले ठेक्का प्रणालीमार्फत बुङ्गमतीमा रातो मच्छिन्द्रनाथको रथ व्यवस्थापन एवं मन्दिर निर्माणसम्बन्धी काम पुनर्निर्माण प्राधिकरणको विघटनसँगै अन्योलमा परेको गुनासो गरे । उपप्रमुख मञ्जली शाक्यले महानगरलाई हस्तकलाको राजधानी घोषणा गर्न आग्रह गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime