काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आफ्नो स्थापनाको २५ औँ वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ ।निजी क्षेत्रका ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरू सदस्य रहेको ऊर्जा उद्यमीहरूको छाता संस्था इप्पानले आफ्नो स्थापनाको २५ औँ वार्षिकोत्सव भव्य रूपमा मनाउन लागेको जनाएको हो ।
२०५७ साल माघ ४ गते स्थापना भएको इप्पानले विभिन्न आरोह अवरोह पार गर्दै नेपालको ऊर्जा विकासका लागि महत्त्वपूर्ण २५ वर्ष समर्पित गरेको छ। देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत् निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्त्वपूर्ण योगदान रहेको छ। देशको कुल विद्युत् जडित क्षमता ३२३५ मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्रै २५४८ मेगावाट अर्थात् कुल जडित क्षमताको करिब ८० प्रतिशत विद्युत् उत्पादन हुनुका साथै ३९४७ मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन र ४५४५ मेगावाट क्षमताका आयोजनाहरू विद्युत् खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न गरी वित्तिय व्यवस्थापनको पर्खाइमा रहेका छन् ।
त्यस्तै १२ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरू पीपीएको पर्खाइमा रहेका छन् भने त्यति नै क्षमताका आयोजनाहरू अध्ययनको विभिन्न चरणमा रहेका छन् । यी आयोजनाहरूको अध्ययन देखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने सरकारलाई वार्षिक खर्बौँ रुपैयाँ रोयल्टी तिर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पनि पुर्याइरहेको छ ।
गाउँ गाउँमा बाटोघाटो, पुलपुलेसा पुर्याउँदै स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठुलो रकम सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रले खर्च गरिसकेको छ । देशव्यापी रूपमा विद्युत् उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएको निजी क्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा रजत जयन्ती आगामी २०८१ माघ ४ गते काठमाडौंमा विशेष कार्यक्रमसहित भव्य रूपमा मनाउने निर्णय गरेको छ ।
रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन गर्नुका साथै विभिन्न विधामा अवार्डहरू दिने इप्पान कार्यसमितिको १८७ औँ बैठकले औपचारिक निर्णय गर्दै रजत जयन्तीको लागि छुटै लोगो र नारा समेत अनुमोदन गरेको छ । इप्पानको रजत जयन्तीको नारा ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ रहेको छ ।
इप्पान डे को अवसरमाEconomic Prosperity through Energy Development र Huge Opportunities, facing challenges and way of solutions in energy sector विषयमा दुईवटा प्यानल डिस्कसन आयोजना गरिने छ । सो सेसनमा ऊर्जाका स्थानीयदेखि संघीयसम्मका समस्या, चुनौती, अवसर र नीतिहरुवारे मन्थन हुनेछ ।
त्यस्तै रजत जयन्तीको पूर्व सन्ध्यामा विभिन्न खेलकुद कार्यक्रमहरू आयोजना गरिने भएको छ। जसमा फुटसल तथा ब्याडमिन्टन प्रतियोगिता, रक्तदान कार्यक्रम, इभी र्याली, निबन्ध लेखन प्रतियोगिता, छोटो वृत्तचित्र निर्माण प्रतियोगिता र फोटो प्रतियोगिता आयोजना गरिने जनाएको छ । इप्पान डे को दिन विभिन्न विधामा इप्पान अवार्ड प्रदान गरिने छ भने २५ बर्षे यात्रामा साथ र सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मान गर्ने योजना रहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्