Skip to content
Prabhu

बीमा प्राधिकरण अध्यक्ष : कानुनी व्यवस्था एक दिन पनि खाली नहुने, व्यवहारमा ५४ दिन अघिदेखि नेतृत्वविहीन

काठमाडौं । कानुनी रुपमा नेपाल बीमा प्राधिकरण कुनै दिन पनि नेतृत्व विहीन नहुने कल्पना गरेको छ । बीमा ऐन, २०७९ ले बीमा प्राधिकरणको अध्यक्ष एक दिन पनि खाली नहुने गरी नियुक्ति गर्नुपर्ने व्यवस्था गरेको छ । बाहलवाला अध्यक्षको पद खाली हुनुभन्दा एक महिनाअघि नै नयाँ अध्यक्ष नियुक्ति गरिसक्नुपर्ने कानुनमा व्यवस्था रहेको छ । कानुनमा यस्तो व्यवस्था भए पनि अहिले बीमा प्राधिकरण अध्यक्षविहीन अवस्थामा रहेको छ ।

भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएसँगै प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल निलम्बनमा परेका छन्। सिलवाल मंसिर २४ गते निलम्बनमा परेसँगै प्राधिकरण पूर्णकालीन अध्यक्षविहीन बन्न पुगेको पुग्यो । कानुनमा भएको व्यवस्थाअनुसार उनको कार्यकाल माघ १९ गते सकिने थियो र त्यसको एक महिनाअघि पुस १९ गतेभित्र सरकारले नयाँ अध्यक्षको नियुक्ति गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

यो अवस्थामा अध्यक्षको नियुक्ति गर्नका लागि सरकारसँग १४ दिन बाँकी रहेको छ । बीमा ऐन २०७९ को दफा ७ मा सामान्य अवस्थामा प्राधिकरणको अध्यक्ष पद रिक्त नहुन परिकल्पना गरेको छ । प्राधिकरणको अध्यक्ष अविच्छिन्न रुपमा कोही न कोही पदासिन रहने परिकल्पना गरेको छ । उक्त दफाको उपदफा ४ मा अध्यक्षको नियुक्ति सो पद रिक्त हुनु एक महिना अगावै गर्नुपर्ने प्रावधान छ । एउटा अध्यक्षको कार्यकाल पुरा नहुँदै अर्को अध्यक्ष नियुक्त गरिसक्नुपर्ने प्रावधानमार्फत ऐनले प्राधिकरण एक दिनपछि अध्यक्षविहिन अवस्थामा नरहने सुनिश्चित गरेको छ।

तर, अहिले प्राधिकरण अर्थ मन्त्रालयका सहसचिवले अध्यक्षको रुपमा कामकाग गर्नुपर्ने अवस्थामा पुगेको छ । मन्त्रालयले अध्यक्ष निलम्बनमा परेपछि सहसचिव मदन दाहालले काम चलाउन अध्यक्षको रुपमा काम गरिरहेका छन् । लामो समयदेखि कार्यकारी निर्देशकविहीन रुपमा रहेको बीमा क्षेत्रको नियामक निकाय अहिले अध्यक्षविहीन अवस्थामा पुगेको छ । कानुनी रुपमा सरकारले अबको केही दिनमा अध्यक्ष नियुक्ति गरिसक्नु पर्ने छ । अध्यक्ष नियुक्ति नहुँदासम्म कार्यकारी निर्देशक नियुक्त हुने अवस्था पनि छैन ।

सिलवालविरुद्ध नागरिकता किर्ते र भ्रष्टाचारको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । सिलवाललाई सरकारले बीमा प्राधिकरणमा अध्यक्षमा नियुक्ति गर्ने निर्णय २०७७ माघ १८ गते गरेको थियो । मन्त्रिपरिषदले गरेको निर्णयलाई आधारमान्दा सिलवालको कार्यकाल माघको १९ गते सकिने थियो । तर उनी कार्यकाल सकिनुभन्दा ५४ दिनअघि नै स्वतः निलम्बनमा परे ।

प्राधिकरणको अध्यक्षको नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र बीमा विज्ञ सहितको तीन सदस्यीय समितिले कम्तीमा तीनजना व्यक्तिको नाम सरकार समक्ष सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ । तीन जनामध्येबाट मन्त्री परिषदले एक जनालाई अध्यक्षमा नियुक्त गर्ने सक्नेछ ।

प्राधिकरणको अध्यक्षका लागि यस्तो छ योग्यता 

बीमा ऐनको दफा ८ अनुसार बीमा, मौद्रिक, बैंकिङ्ग, वाणिज्य वा वित्तीयशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर तह वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको, उच्च नैतिक चरित्र भएको व्यक्ति अध्यक्ष पदमा नियुक्तिका लागि योग्य हुनेछ ।

 

 

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal