काठमाडौं । व्यवसायी दीपक मलहोत्राले बिराटनगरमा रहेको ४८ कट्ठा जग्गा एक अर्ब २५ करोडभन्दा बढी मूल्यमा बिक्री गरेका छन् ।
बिराटनगर ११ बसपार्कको दक्षिणपट्टि प्रिमियम मूल्यमा प्लटिङ गरेर जग्गा बेच्नको लागि तयार भएको छ । रत्ना होटलसँग जोडिएको ४८ कट्ठा जग्गा मलहोत्राले केही साता अगाडि झापामा पाँच तारे होटल सञ्चालन गर्ने प्रकाश गोतामेलाई बिक्री गरेका हुन् ।
व्यवसायी मलहोत्राले बिराटनगरको जग्गा बिक्री गरेको पुष्टी गरे ।
‘बिराटनगरको जग्गा बिक्री गरेर बैंकको ५० करोडजति ऋण तिरेको छु,’मलहोत्राले लगानीन्यूजसँग भने ।
मलहोत्रा तथा बिराटनगरका घरजग्गा व्यवसायी ध्रुव घिमिरे,सुरेन्द्रबहादुर सिंह समेत लगानीमा स्मार्ट प्लानिङ भनेर ४८ कट्ठा जग्गा किनेका थिए ।
करिब पाँच अगाडि अहिलेका बिराटनगरपालिका मेयर नागेश कोइरालासँग मलहोत्रा सहितको समूहले सो जग्गा किनेका थिए । जग्गा बेचेपछि नागेश कोइराला मेयर भएका थिए । उनले प्लटिङ भएको जग्गाले व्यवस्थित रुपमा बिराटनगरलाई सहर बनाउन मद्दत पुग्ने अपेक्षा व्यक्त गरेका थिए ।
प्लटिङ गर्ने योजना बनाएपनि मलहोत्राले सो जग्गा खासै बिक्री गर्न सकेका थिएनन् । जसले गर्दा मलहोत्रा सहितका त्यसमा लगानी गर्ने व्यवसायीलाई नगद प्रवाह तथा बैंकको ब्याजदरले गर्दा समस्या आएको थियो ।
बिराटनगरको जग्गा बिक्रीले जग्गा प्लटिङको काम गर्न बैंकबाट ऋण लिएर ठूलो आकारमा गर्न नहुँने लेसन आफूले लिएको मलहोत्रा सुनाउँछन् ।
मलहोत्रासँग १ अर्ब २० करोडभन्दा बढीमा जग्गा किन्ने प्रकाश गोतामेले झापामा पाँच तारे होटल सञ्चालन गर्छन् । झापामा पाँचतारे होटल सञ्चालन गरेपनि गोतामे झापा निवासी नभएको त्यहाँका व्यवसायीहरु बताउँछन् । गोतामेले झापाको बिर्तामोडमा किङ्सबरी सञ्चालन गर्छन् । यसको लागि गोतामेले बैंकबाट १ अर्बभन्दा बढी ऋण लिएका थिए।
यसअघि मलहोत्राले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको लाइसेन्स अर्का व्यवसायी शुसिल थापा सहितको समूहलाई बिक्री गरेको थियो ।
थापाको कम्पनी साहस ऊर्जा लिमिटेडले मलहोत्राको कम्पनी टाइम्स इनर्जीसँग भएको तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त (पिआरओआर) आयोजनाको लाइसेन्स खरिद गरेको थियो । करिब २ अर्ब रुपैयाँमा मलहोत्राले सो लाइसेन्स थापाको कम्पनीलाई बिक्री गरेका थिए ।
व्यवसायिक घराना आइएमएस ग्रुपका मलहोत्राको घरजग्गा बाहेक उनी सामसङ मोबाइलको बिक्रेता हुन् । अटोमोबाइल्स,इकमर्श,होटल,जलविद्युत् लगायतको क्षेत्रमा लगानी छ । ठूलो लगानी भने मलहोत्राको घरजग्गा व्यवसायमा नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्