काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यही पुस २८ गते आइतबार २३ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।
सभाले चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश कर समेत वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै प्रतिकित्ता १०० रुपैयाँका दरले ३ अर्ब ५० करोड रुपैयाँबराबरको ‘एसबिएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पनि पारितका लागि पेश गरिनेछ ।
त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्ष नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ भने ५ जना सञ्चालकको निर्वाचन गरिनेछ । साथै चुक्ता, जारी र अधिकृत पुँजी वृद्धि गर्ने, सञ्चालकको भत्ता र सुविधा हेरफेर गर्ने, खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।
सभा प्रयोजनका लागि बैंकले पुस १४ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्