Skip to content
Prabhu

लक्ष्मी सनराइज बैंक र आइएफसीबीच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्नेबारे साझेदारी

nabil

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँगको साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ।

नेपालमा यसप्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरु चाल्नेछ । अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्याउनेछ।

पति–पतनी, वृद्व आफन्त वा घरपरिवारका अन्य सदस्यहरुमाथि नियन्त्रण जमाउँदै हुने वित्तीय स्रोतहरूको दुरुपयोग वित्तीय दुरुपयोग हो । यसमा परिवारका सदस्यहरुको बैंक खाता र कर्जा जस्ता वित्तीय साधनहरुको दुरूपयोग जस्तै,आफ्नो बैंक खाता आफ्नो नभई अरुको नियन्त्रणमा हुनु, वित्तीय संस्थाहरुबाट आफ्नो लागि नभई अरुका लागि ॠण लिन बाध्य बनाइनु जस्ता कृयाकलापहरु पर्छन् । यसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिट रेटिंग तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको संकट निम्त्याउने जस्ता गम्भीर प्रभाव पार्न पनि सक्छ ।

‘वित्तीय दुरुपयोगले जनजीवनमा विभिन्न अवरोध पुर्याउनुका साथै वित्तीय प्रणालीप्रतिको विश्वासलाई पनि घटाउँछ। यस साझेदारीमार्फत हामी वित्तीय दुरुपयोगलाई पहिचान र रोकथाम गर्न वित्तीय संस्थाहरूमा नै मानकहरू लागू गरी प्रणालीगत सुधार ल्याउन र वित्तीय गतिविधिहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्न चाहन्छौँ,’ आइएफसी का बङ्गलादेश, भुटान, र नेपालको देशीय प्रबन्धक मार्टिन होल्टमानले भने। ‘एम्पावर फाइनान्स एलायन्स’ मार्फत आइएफसीले लक्ष्मी सनराइज बैंकलाई सुरक्षित बैंकिङ सेवाहरू विकास गर्न आवश्यक मार्गनिर्देशन दिनेछ ।

यसले बैंकलाई वित्तीय दुरुपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पुर्याउनेछ। ‘यो साझेदारी बैंकिङ क्षेत्रमा वित्तीय दुरुपयोग जस्तो महत्त्वपूर्ण तर प्रायः बेवास्ता गरिने समस्यालाई समाधान गर्नेतर्फ एक महत्वपूर्ण कदम हो,’ लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले भने ‘आइएफसी सँगको सहकार्यमा हामी वित्तीय सेवाहरूमा सुरक्षा र समावेशीतालाई पुनःपरिभाषित गर्दै नयाँ मापदण्डहरू स्थापना गर्ने र संवेदनशील समूहहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छौँ ।’

गत अगस्ट महिनामा आइएफसीद्वारा अष्ट्रेलिया सरकारको समर्थनमा सुरु गरिएको ‘एम्पावर फाइनान्स एलायन्स’ मा नेपाल,पपुआ न्युगिनी, श्रीलंका, भानुआतु, र भियतनामका नौ वित्तीय संस्थाहरू समावेश छन्, जसले सामूहिक रूपमा ३ करोडभन्दा बढी हकहरुलाई सेवा प्रदान गर्दछन्। हरेक बैंकसँग सहकार्य गर्दै यस एलायन्सले वित्तीय दुरुपयोगको जोखिम घटाउन सुरक्षित बैंकिङ सेवाहरूको मूल्याङ्कन, डिजाइन, र विकास गर्न मार्गनिर्देशन प्रदान गर्छ।

यो सहकार्यले लक्ष्मी सनराइज बैंक र आइएफसीको समावेशीतालाई प्राथमिकता दिँदै सुरक्षित र न्यायसंगत वित्तीय प्रणाली सिर्जना गर्ने साझा दृष्टिकोणलाई पुष्टि गर्दछ। ‘एम्पावर फाइनान्स एलायन्स’ कार्यक्रम वित्तीय दुरुपयोग समाधान गर्न र उपेक्षित समुदायहरुको समर्थन गर्न बैंकिङ क्षेत्रका लागि नयाँ र उदाहरणीय पहल हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal