काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०।८१ (१ साउन २०८० देखि असार मसान्त २०८१) सम्मको बिमांकीय मूल्यांकनअनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुका लागि उक्त अवधिको प्रतिवर्ष प्रतिहजार बीमांकमा बोनसदर निर्धाण गरेको हो।
उक्त कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदरअनुसार अग्रिम भुक्तानी बीमा योजना (थ्री पेमेन्ट प्लान) मा बिमितले बीमा अवधिअनुसार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस (प्रतिहजारका दरले) पाउने भएका छन् ।
यस योजनामा कम्पनीले १ देखि १५ वर्षको बीमा अवधिमा ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिलाई ५५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको बीमा अवधिको योजनामा ६५ रुपैयाँ बोनस दिने भएको हो।
त्यसैगरी, अग्रीम भुक्तानी योजना (मिडटर्म ग्रोथ प्लान) बीमा योजनामा १ देखि १५ वर्षको बीमा अवधिलाई ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिलाई ५० रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको अवधिको बीमा योजनामा ५५ रुपैयाँ बोनस दिने भएको छ।
त्यस्तै, मेट लाइफले सावधिक जीवन बीमा योजनाको १ देखि १५ वर्षे बीमा अवधिमा ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ६५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको अवधिको बीमा योजनामा ७५ रुपैयाँ अधिकतम बोनस दिने जनाएको छ।
कम्पनीले अर्को बीमा योजना शिक्षा संरक्षण बीमामा पनि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। जसमा १ देखि १५ वर्ष अवधिको योजनामा ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको योजनामा ६५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको बीमा योजनामा ७५ रुपैयाँ बोनस दिने जनाएको छ।
साथै, अर्को बीमांकीय मूल्यांकनअनुसार नेपाल बीमा प्राधिकरणबाट नयाँ बोनसदर स्वीकृत नभएसम्म यही बोनसदर लागू हुने कम्पनीले स्पष्ट पारेको छ। यी बोनसदर मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरूमा लागू हुने कम्पनीले बताएको छ।






प्रतिक्रिया दिनुहोस्