काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा आज बस्दैछ । कम्पनीको १५ औँ वार्षिक साधारणसभा (आज) पुस ११ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली व्याङ्केटमा बिहान १० बजेदखि शुरू भएको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गरी ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
त्यसैगरी अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २३ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ मंसिर २० गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्