काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको पहिलो म्युचुल फण्ड ‘गरिमा समृद्धि योजना’को इकाईका लागि आवेदन दिने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ । यो योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँ बराबरको फण्ड बिक्रीमा ल्याएको हो ।
कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री खुला गरिएको हो । फण्डको इकाईमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।
यस फण्डमा बिक्री अवधि भित्र तथा बोर्डबाट थप भएको अवधिभित्र ५० प्रतिशत अर्थात ५ करोड इकाईका लागि आवेदन परेमा इकाई बाँडफाँट गरिनेछ । तर न्यूनतम संख्यामा इकाई बिक्री नभए योजना खारेज गरी १५ दिनभित्र लगानीकर्ताको रकम फिर्ता गरिने व्यवस्था गरिएको हुन्छ ।
फण्डको बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड नै रहेको छ । १० वर्ष अवधिको यो बन्दमुखी योजनाका लागि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणाली प्रयोग गरी वा मेरो शेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्