Skip to content
Prabhu

खैरहनी महोत्सवमा महको प्रबर्द्धन गरिँदै

nabil

चितवन । तेस्रो खैरहनी महोत्सवमा महको प्रबर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । यही पुस ५ गतेदेखि सुरु भएको महोत्सवमा महलाई प्रबर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै परिसर निर्माण गरिएको हो । यहाँ मौरीको ठूलो डमीसमेत तयार गरिएको छ ।

महोत्सवमा मह बिक्रीसँगै महको फाइदाका बारेमा परामर्शसमेत दिँदै आइएको छ । मह परिसरमा चितवनको खैरहनी र राप्तिका साथै मकवानपुरको राक्सिराङका मौरी व्यवसायी फार्मले महको स्टल राखेका छन् ।

उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनालले खैरहनीलगायत पूर्वी चितवन महको प्रचुर सम्भावना रहेको क्षेत्र भएकाले यस पटकको महोत्सवमा महलाई प्राथमिकता दिइएको बताए । उनले भने, ‘मह स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ, यसको उपभोग बढाउन, व्यवसाय प्रवर्द्धन गर्न तेस्रो खैरहनी महोत्सवमा विशेष प्राथमिकता दिएका छौँ ।’

महोत्सव आयोजक समितिका संयोजकसमेत रहेका खनालले चितवनको खैरहनी, राप्ती र कालिका नगरपालिकामा पर्याप्तमात्रामा मौरीपालन गरिँदै आएको जानकारी दिए । उनका अनुसार खैरहनीमा मौरी पकेट कार्यक्रम पनि लागू छ ।

यसैबीच खैरहनी महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज अस्मिता अधिकारीसहित राष्ट्रिय तथा स्थानीय कलाकारले साङ्गितिक प्रस्तुती दिनुहुने मेला सांस्कृतिक समितिका संयोजक अर्जुन लम्सालले जानकारी दिए । पुस ५ गतेदेखि सुरु भएको महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal