Skip to content
Prabhu

जाजरकोट भूकम्पपीडित विकको मुहारमा नबिल बैंकले दिएको खुसी

nabil
काठमाडौँ । गत वर्षको कात्तिक १७ गतेको मध्यरात । चकमन्न अध्यारो रातमा गाउँ सुनसान थियो । अधिकांश गाउँले  निद्रामा थिए । त्यसैमध्येकी एक थिइन्, विष्णु विक । मध्यरातमा एक्कासी घर हल्लिन थाल्यो । के भयो भन्ने सोच्न नपाउँदै घर भत्कन थाल्यो । भत्किएको घरबाट जसोतसो आफू र परिवारलाई बाहिर निकालिन । ज्यान त बच्यो तर ओत लाग्ने घर बचेन ।
६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्काले जाजरकोट मात्रै होइन छिमेकी जिल्ला रुकुमपश्चिममा पनि जमिन हल्लाएको थियो । गाउँका केही मानिसले ज्यान गुमाए भने सबैजसोले निमेषभरमा आफ्नो घरगोठ गुमाए । मरेर जानेहरु त गइहाले, तर बाँचेका विष्णु विक जस्ताको उठिबास लगायो । भूकम्पनले उनको भर्खरै निर्माण भएको परम्परागत शैलीको घर मात्रै ढलेन, त्यहाँभित्र जतन गरी साँचेको खाद्यान्नसँगै अन्य सम्पत्ति पनि माटोमै पुरियो ।
“सात लाख रुपैयाँ ऋणमा आठ जना मिस्त्री लगाएर घर बनाएकी थिएँ, ब्याजसहित ऋण तिर्दा १० लाख रुपैयाँ पुगेको थियो”, उनले सुनाइन, “ऋण काडेर भर्खरै बनाएको घर भूकम्पको धक्काले छिनभरमै ढल्यो ।” भूकम्पका कारण उनको घर मात्रै ढलेन, एउटा सपना पनि ढल्यो । शरीर गल्यो, आत्मविश्वास कमजोर भयो । उनले सोचिन, त्यत्रो ऋण गरेर फेरि घर बनाउने आँट अब छैन ।
तर विकको आत्मविश्वास भने केही समयपछि फेरि पलायो । नबिल बैंकले भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माणका लागि एक करोड रुपैयाँ छुट्याएको थाहा पाएपछि उनको पनि आत्मविश्वास बढ्यो । भूकम्पपछि चिसो मौसममा पनि त्रिपालमुनी बसेको विकको परिवारलाई फेरि घर बन्छ कि भन्ने आशा पलायो ।
सिटामोल सेमत नपाएर ज्यान गुमाउनुपर्ने बाध्यतामा रहेका भूकम्पपीडितका लागि नबिल बैंकको योजना ठूलो राहत बन्यो । बैंकले भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका पीडितका लागि अस्थायी बास बनाएर हस्तान्तरण गर्‍यो ।
अघिल्लो वर्षको हिउँद त्रिपाल मुनी बसेरै कटाएका भूकम्पपीडितहरू यस वर्षको हिउँदामा भने बैंकले बनाइदिएको अस्थायी बासस्थानमा बिताउन पाउँदा निकै खुसी भएका छन् । “भूकम्पपछि त हामी त्रिपालकै साहरामा थियौँ, नबिल बैंकले अस्थायी बासस्थान बनाएपछि अब भने सुरक्षित भएको महसुस भएको छ, मलाई नयाँ जीवन पाए जस्तै लागेको छ”, उनले भनिन् ।
विक मात्रै होइन जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित धेरै जनाले अघिल्लो वर्षको हिउँद त्रिपालमा नै बिताए । उनीहश्रसँग बाँस किन्ने समेत पैसा थिएन । आर्थिक रुपमा कमजोर पीडितका लागि लक्षित गरी नबिल बैंकले घर बनाएपछि धेरैले  ठूलो राहत पाए । घर भत्किँदाको पीडाभन्दा अहिले उनको मुहारमा त्रिपालबाट अस्थायी भए पनि बासस्थानमा आउन पाएको निकै खुसी छन् ।
उनी मात्रै होइन, भूकम्पबाट पीडित काली देवी विक पनि अस्थायी बासस्थानमा बस्न पाउँदा निकै खुसी छन् । अहिले बैंकले बासको व्यवस्था गरिदिए पछि आस पलाएको उनले सुनाइन् । उनको घर भूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त बनेको थियो । “राति भूकम्प आयो, घर ढल्यो, भत्केको घरभित्र पस्न आँट आएन, त्रिपालमुनी बस्दा हामी बुढाबुढीलाई निकै दुःख भएको थियो, तर अहिले भने निकै सहज भएको छ, खुसी लागेको छ”, उनले सुनाइन् ।
सरकार र अन्य दातृनिकायबाट सहयोग नपाएको अवस्थामा नबिल बैंकले गरेको सहयोग आफ्ना लागि निकै ठूलो गुन भएको उनले बताइन् । बैंकले सहयोग गरेपछि आफूहरू पनि दिनरात लागेर घर बनाएको उनको भनाइ छ । “बैंकबाट सहयोग पाएर निर्माणमा जुटेको र टहरा बनेपछि अब अकलामै मर्दैनौ भन्ने लागेको छ”, उनले भने ।
बास पाउनु नै आफूहरुका लागि ठूलो सहयोग भएको उनको भनाइ थियो । विपद्को समयमा कसैले सानो सहयोग गर्छ भने पनि त्यो निकै ठूलो हुन्छ । नबिल बैंकको यो सहयोगलाई स्थानीयले भगवान कै रूपमा प्रशसा गरेका छन् ।
“बास बनाइ दिने हाम्रा लागि सबै भगवान हुन्, बैंकले सहयोग गरेर हामीलाई घर बनाइ दिएकाले हामीले उहाँहरूलाई भगवानका रूपमा लिएका छौँ”, भूकम्पपीडित सीता चनाराले भनिन् । विपद्मा सहयोग गरेकाले खुसीको कुनै सीमै नरहेको उनको भनाइ छ ।
भोक लागेको व्यक्तिलाई खाना दिँदा जस्तो खुसी हुन्छ जाजरकोटको नलगाड नगरपालिका १ र रुकमपश्चिमको चौरजहारी नगरपालिका १ का स्थानीयको  खुसी पनि त्यस्तै छ । आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार छनोट गरेर बैंकले आवस निर्माण गरेकाले त्यहाँका स्थानीको खुसीको कुनै सिमा छैन ।
उनीहरूलाई बैंकले सहयोग गरेपछि आफैंले पनि निकै महेनत गरेर आफ्नो बासस्थान निर्माण जुट । जसले गर्दा अहिले हिउँदको समयमा चिसाबाट बच्नका लागि निकै ठूलो राहत पुगेको छ ।
“आफ्नो बस्ने बासका लागि त काम गर्नै पर्‍यो । त्यसै बसीबसी कहाँ पाइन्छ र ? बस्ने बास बनाउनल बैंकले आर्थिक सहयोग गरेपछि हामी खुसी त हुने भइहाल्यौँ”, स्थानीय वलजित कामीले भने, “आर्थिक सहयोगपछि हामीले पनि मेहनत गरेर घर बनायौँ ।”
त्रिपालमा बस्दा चिसो लाग्ने तथा पानी पर्दा लुगा भिज्नेदेखि निकै धेरै समस्याहरू हुने गरेको स्थानीय सुनाउँछन् । त्यस्तै त्रिपालमा बस्दा बालबालिकाहरूलाई अध्ययनका लागि पनि निकै समस्या हुने गरेको थियो । पुस्तक भिज्ने देखि बस्ने ठाउँको पनि उनीहरूले अभाव भोग्दै आएका थिए ।
बास निर्माण भएपछि बसेर पढ्न पाइने तथा किताब भिज्नबाट पनि जोगिने भन्दै निकै खुसी लागेको स्थानीय निरुता लामिछानेले सुनाइन् । “बसेर पढ्न पाइएको छ । चिसोबाट पनि बचियो, निकै खुसी लागेको छ”, उनले भनिन् ।
स्थानीय लिलाकुमारी कामी पनि अरु जस्तै निकै खुसी छन् । “बाँस, पायौं जस्ता पायौँ, हुक पायौँ सिमेन्ट पायौँ । सहयोग पाएपछि खुसी छौं । चिसोबाट बच्ने भइयो । टहरै भए पनि मलाई दिइसके पछि मलाई उनै राजा”, स्थानीय लीलाकुमारी कामीले बताइन् ।
स्थानीय रूपमा पाउने ढुङ्गा, बालुवा आफैंले ल्याएर अन्य सामानहरू बैैंकले सहयोग गरेर दिएको र टहरा निर्माण भएको भूकम्प प्राभावित विमला लामिछाने सुनाउँछिन् । आफैंले बनाउन नसक्नेहरूका लागि यो सहयोग धेरै ठूलो काम गरेको उनको भनाइ छ । “आफ्नो घरै नभएपछि त्यही भए पनि बस्ने बास भयो भनेर खुसी लागेको छ”, उनले भनिन् । उनले बैंकको सहयोगमा निर्माण गरेको घरलाई रातो माटोले पोतेर चिटिक्क बनाएकी छिन् ।
भूकम्पबाट क्षति भएका ४९ जान लाभग्राहीले सहयोग पाएको विषयमा असन्तोष मान्नुपर्ने ठाउँनै नरहेको रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ का अवडा अध्यक्ष इन्द्र गिरीको भनाइ छ  । “प्राविधिकहरू ल्याएर राम्रो टहरा बनाइदिनु भएको छ । उहाँहरूलाई हाम्रो तर्फबाट धन्यबाद दिन चाहान्छौं”, उनले भने ।
जाजरकोटको नलगाड नगरपालिका–१ का वडा अध्यक्ष धनबहादुर महरले पनि बैंकसँगको सहकार्यमा काम गर्दा निकै सहज भएको बताए । “निजी क्षेत्रले गर्ने काममा उहाँहरूको आफ्नै मापदण्ड हुन्छन् । तर, यहाँको पुनः निर्माणमा हामीले कतै पनि असहज महसुस गरेनौँ”, उनले भने । सवारी साधन नपुगेको ठाउँहरूमा पनि रात दिन नभनेर काम गरिरहेको भन्दै अध्यक्ष महरले खुसी व्यक्त गरे ।
नबिल बैंकले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितका लागि निर्माण गरेको अस्थायी आवास आइतबार हस्तान्तरण गरियो । आइतबार नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेका थिए ।
बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका– १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका– १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal