काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ । आर्थिक गतिविधि चलायमान बन्न नसक्दा त्यसको असर बैंक तथा वित्तीय संस्थामा देखिएको हो । अहिले बैंकिङ क्षेत्रमा निक्षेप बढिरहेको छ भने कर्जा प्रवाह भने निकै न्यून मात्रै भइरहेको छ ।
बैंकहरुमा अधिक मात्रामा तरलता हुँदा त्यसको व्यवस्थापनमा बैंकहरुलाई चुनौति देखिएको छ । उद्योगी व्यवसायीहरुले अहिले बैंकबाट नयाँ कर्जा लिएर व्यवसाय गर्न सक्ने वातावरण नभएको बताइरहेको अवस्थामा कर्जा प्रवाह निकै न्युन भएको हो ।
अर्कोतर्फ बैंकहरुले विगतमा प्रवाह गरेको कर्जाबाट पनि बैंक तथा वित्तीय संस्थाहरूले नियमितरूपमा साँवा ब्याज असुली गर्न सकेका छन् । यो अवस्थामा कर्जा असुलीको लागि धितो लिलामीको प्रक्रियामा जाँदा पनि आर्थिक मन्दीकै कारण धितो बिक्री हुन सकेको छैन्।
कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति ३८ अर्ब २६ करोड १० लाख रुपैयाँ पुगेको छ । सम्पूर्ण बैंकिङ क्षेत्रको गैरबैंकिङसम्पत्तिमा वाणिज्य बैंकको हिस्सा निकै ठूलो रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूमा मात्र कुल ३२ अर्ब ३३ करोड ७० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति छ । बैंकहरूले अहिले पनि ठूलो परिमाणमा कर्जा उठाउन सकिरहेका छैनन् । खराब कर्जा असुलीका लागि धितो लिलामका लागि राख्नसमेत उक्त धितोसमेत बिक्री नभइरहेको अवस्था छ ।
२० वटा वाणिज्य बैंकहरुमा गत आवको कात्तिक मसान्तसम्मको अवधिमा १८ अर्ब २१ करोड ८० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको थियो । केन्द्रीय बैंकको तथ्यांकअनुसार नेपाल बैंकको गैरबैंकिङ सम्पत्ति २० करोड ४१ लाख १० हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड रुपैयाँ बढी हो ।
गत वर्ष कात्तिकमा नेपाल बैंकको यस्तो गैरबैंकिङ सम्पत्ति १८ करोड ५४ लाख ६० हजार रुपैयाँ थियो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति २९ करोड ७६ लाख ५० हजार रुपैयाँ पुगेको छ । यस्तो सम्पत्ति गत आवको सोही अवधिसम्ममा १९ करोड ७५ लाख १० हजार रुपैयाँ थियो ।
त्यस्तै चालु आवको कात्तिक मसान्तसम्ममा नबिल बैंकको गैरबैंकिङ सम्पत्ति २ अर्ब ६४ करोड ९७ लाख ४० हजार रुपैयाँ बराबरको छ । गत आर्थिक वर्षको सोही अवधिमा नबिलको यस्तो सम्पत्ति १ अर्ब ८२ करोड ६६ लाख ६० हजार रुपैयाँ थियो । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा गैरबैंकिङ सम्पत्ति बढेर ३ अर्ब तीन करोड ९४ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा उक्त बैंकको यस्तो सम्पत्ति १ अर्ब ८३ करोड ६४ लाख ९० हजार रुपैयाँ थियो । त्यस्तै स्टान्र्डर्ड चार्टर्ड बैंक नेपालमा भने पछिलो दुई आर्थिक वर्षमा गैरबैंकिङ सम्पत्ति शून्य छ ।
हिमालयन बैंकको गैरबैंकिङ सम्पत्ति बढेर ३ अर्ब ६३ करोड ६० लाख ४० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा हिमालयको यस्तो सम्पत्ति ८२ करोड ७८ लाख ८० हजार रुपैयाँ थियो । त्यस्तै नेपाल एसबीआईको गैर बैंकिङ सम्पत्ति ३५ करोड ३९ लाख १० हजार रुपैयाँ पुगेको छ ।
यो बैंकको यस्तो सम्पत्ति गत आवको सोही अवधिमा ६ करोड ६० लाख ५० हजार रुपैयाँ रहेको थियो । त्यस्तै एभरेष्ट बैंकमा यस्तो सम्पत्ति ५१ करोड १२ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यो बैंकमा ५ करोड ९९ लाख १० हजार रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो ।
एनआईसी एसिया बैंकमा पनि पछिल्लो समय गैरबैंकिङ सम्पत्ति बढेर ४ अर्ब २२ करोड ६० लाख ९० हजार रुपैयाँ पुगेको छ । यो बैंकमा गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सम्पत्ति ३ अर्ब ५४ करोड ५३ लाख ७० हजार रुपैयाँ थियो । त्यस्तै माछापुच्छ्रे बैंकको गैर बैंकिङ सम्पत्ति १ अर्ब ३ करोड ३२ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यो बैंकमा ८२ करोड ६ लाख ३० हजार रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो ।
कुमारी बैंकसँग २ अर्ब ६६ करोड ७३ लाख ८० हजार रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । गत आवको सोही अवधिमा यो बैंकसँग यस्तो सम्पत्ति १ अर्ब ५० करोड ६१ लाख ४० हजार रुपैयाँ बराबरको थियो । त्यस्तै लक्ष्मी सनराइज बैंकमा यो अवधिमा १ अर्ब ५९ करोड ८८ लाख १० हजार रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकसँग १ अर्ब २२ करोड ७४ लाख ३० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो ।
कात्तिक मसान्तसम्ममा सिद्धार्थ बैंकको गैरबैंकिङ सम्पत्ति ७० करोड ३८ लाख ९० हजार रुपैयाँ पुगेको छ । यो बैंकमा गत आर्थिक वर्षको सोही अवधिमा ६३ करोड ५३ लाख ९० हजार रुपैयाँ यस्तो सम्पत्ति थियो । कात्तिक मसान्तसम्मा कृषि विकास बैंकमा ९८ करोड ३३ लाख ९० हजार रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । यो बैंकमा गत आवको सोही अवधिमा १८ करोड ७३ लाख ४० हजार मूल्य बराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो ।
कात्तिक मसान्तसम्ममा ग्लोबल आईएमई बैंकको गैरबैकिङ सम्पत्ति ५ अर्ब १३ करोड १३ लाख ३० हजार पुगेको छ । गत आवको सोही अवधिमा यो बैंकको यस्तो सम्पत्ति १ अर्ब ८३ करोड ७० लाख ३० हजार रुपैयाँबराबरको थियो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गैरबंैकिङ सम्पत्ति ८० करोड ९९ लाख १० हजार पुगेको छ । गत आवको सोही अवधिमा यो बैंकको यस्तो सम्पत्ति २७ करोड ३७ लाख ७० हजार बराबरको थियो ।
त्यस्तै प्राइम कमर्सियल बैंकको गैरबैंकिङ सम्पत्ति १ अर्ब ६७ करोड ७१ लाख पुगेको छ । यो बैंकमा गत आवको यसै अवधिसम्ममा यस्तो सम्पत्ति १ अर्ब ८० करोड ६ लाख २० हजार रहेको थियो । यो बैंकको गैरबैंकिङ सम्पत्ति यो अवधिमा घटेको छ ।
त्यस्तै एनएमबी बैंकमा कात्तिक मसान्तसम्मा १ अर्ब २ करोड ६४ लाख ७० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकमा ६९ करोड ७७ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो । कात्तिक मसान्तसम्ममा प्रभु बैंकमा १ अर्ब ५ करोड ९१ लाख १० हजार रुपैयाँको गैरबैंकिङ सम्पत्ति रहेको छ ।
गत आवको सोही अवधिमा भने यो बैंकमा ५१ करोड ३६ लाख ६० हजार रुपैयाँ बराबरको गैर बैैंकिङ सम्पत्ति रहेको थियो । कात्तिक मसान्तसम्ममा सानिमा बैंकमा ७० करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । गत आवको सोही अवधिमा यो बैंकसँग यस्तो सम्पत्ति १७ करोड ३४ लाख ३० हजार रुपैयाँ बराबरको थियो ।
प्रतिक्रिया दिनुहोस्