Skip to content
Prabhu

बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने

nabil

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौँमा मेलम्चीको पानीको आपूर्ती बन्द नहुने बताएका छन् । आज मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा मन्त्री यादवले विगतका बर्खामा काठमाडौँमा पानी आपूर्ती बन्द हुने भए पनि अब भने बाह्रै महिना पानी आपूर्ती गर्ने गरी काम भइरहेको बताएका हुन् ।

‘विगतमा बर्खा सुरु हुने बित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुन्थ्यो, अब भने बर्खामा पनि ल्याउने गरी काम गरिरहेका छौँ,’ उनले भने । मन्त्री यादवले अहिले पनि विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नुपर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नु पर्ने अवस्थाको अन्न्त्य गर्नका लागि मन्त्रालयले ठोस कदम चालिरहेको उल्लेख गरे ।

‘म नेपालका तराई, पहाड र हिमाली जिल्लाका बिकट गाउँ बस्तीमा पुगेको छु । कतिपय गाउँ त पानीका लागि बसाइँसराइँ गर्नुपर्ने अवस्थामा छन् । ती क्षेत्रहरुका नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न म ठोस कदम चाल्दै छु,’ उनले भने । मन्त्री यादवले मेलच्नी नजिकैको अर्को खोलाको पानी पनि काठमाडौं ल्याउने विषयमा अध्ययन भइरहेको बताए । मेलम्चीको पानी कुनै कारणबस ल्याउन नमिल्ने अवस्थाको विकल्पमा मकवानपुरको सिस्नेरी खोलाबाट काठमाडौं पानी ल्याउने गरी काम भइरहेको उनको भनाइ थियो । देशका अधिकांश ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिकमाझ स्वच्छ, सफा खानेपानी पु¥याउन योजनावद्ध ढङ्गले काम गरिरहेको मन्त्री यादवले उल्लेख गरे ।

जलस्रोतको क्षेत्रमा नेपाल धनी मुलुक हुँदा पनि यहाँका नागरिकले पानीका लागि आन्दोलन गर्नुपर्ने अनि पिठ्युँमा बोकेर खानेपानीको जोहो गर्नु आफैमा दुःखको विषय भएको उनले बताए । जलवायु परिर्वतनले तराईमा पानी सुक्दै गएको र पहाड, हिमाली क्षेत्रमा जनताले पिठ्युँमा खानेपानी बोकेर जोहो गर्नु परेको र समस्या समाधन गर्न निकै चुनौतीपूर्ण रहेकाले त्यसको समस्या समाधानका लागि खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था गरी खानेपानीको समस्या दीर्घकालीन रुपमा अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal