महोत्तरी । यहाँको बर्दिवास नगरपालिकामा फोहर प्रशोधन केन्द्र स्थापना गरिएको छ ।
नगरमा दैनिक उत्पादन हुने फोहर व्यवस्थापन गर्न नगरपालिकाले फोहर प्रशोधन केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनासँगै फोहोर व्यस्थापनमा सहज भएपछि नगरवासी खुसी भएको बर्दिवास नगरपालिका–३ का स्थानीय मनोज थापाले बताए।
यसअघि फोहोर यत्रतत्र फालिँदा दुर्गन्धित हुनुका साथै विभिन्न रोग फैलिने सम्भावना रहेको थियो । हाल केन्द्र स्थापना भएपछि नगर सफा हुन थालेको बर्दिवास नगरपालिका–१४ का निकेश खनालले बताए ।
बर्दिवास नगरपालिकाले हिट्टा हेब्वी मेसिनरी एण्ड रिसाइकल प्रालिको सहयोगमा बर्दिवास नगरपालिका–८ मा जापानिज प्रविधिको फोहर प्रशोधन केन्द्रको स्थापना गरिएको हो ।
नगरपालिकाले उक्त कम्पनी सँग रु एक करोड २० लाखमा २० वर्षको सम्झौता गरेको छ । नगरपालिकाले पूर्वाधार तयार गरिदिएको बर्दिवास नगरपालिका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए ।
सामान्य घर परिवारबाट रु ५० र होटल रेस्टुरेण्टबाट फोहरको परिमाणअनुसार बढीमा तीन हजार रुपैयाँ मासिक शुल्क लिने गरेको फोहर प्रशोधन केन्द्रका प्रबन्धक सुरेन्द्र साहले जानकारी दिए ।
हाल दैनिक छ टन फोहोर प्रशोधन केन्द्रमा जलाउन थालेको र यसले नगरभित्रका फोहर व्यवस्थापनमा सहज भएको बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए ।
फोहोर प्रशोधन केन्द्र यही पुस ५ गतेबाट सञ्चालनमा ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस्