एजेन्सी । अमेरिकी यातायात विभागले उडान ढिलाइ गर्ने जेटब्लु एयरवेजलाई २० लाख अमेरिकी डलर अर्थात् करिब साढे २७ करोड रुपैयाँ जरिवाना गरेको छ । विभागले कुनै विमान कम्पनीलाई उडान ढिलाइ गरेकामा जरिवाना गरेको यो पहिलो पटक हो ।
विभागका अनुसार उक्त जरिवानामध्ये १० लाख अमेरिकी डलर जेटब्लुका ती ग्राहकहरूलाई जानेछ जो ढिलाइ वा अवरोधबाट प्रभावित भएका छन् । यो रकम आगामी एक वर्षभित्र ग्राहकहरूलाई वितरण गरिने जनाइएको छ । साथै बाँकी १० लाख अमेरिकी डलरमध्ये आधा रकम अमेरिकी कोषमा पठाइनेछ । जसमध्ये पाँच लाख अमेरिकी डलर ६० दिनभित्र र बाँकी पाँच लाख डलर एक वर्षभित्र भुक्तानी गरिनेछ ।
विभागले अन्य एयरलाइनहरूको अवास्तविक उडान तालिकाका लागि पनि छानबिन गरिरहेको बताएको छ ।
“विभागले सामान्य अवस्थाभन्दा बढी विमान उडान ढिलाइ हुने वा अन्य अवास्तविक तालिकागत अभ्यास गर्ने एयरलाइनविरुद्ध कानून कार्यान्वयन गर्नेछ । यसले व्यावसायिक विमान सेवामा स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्ने र यात्रुहरूको न्यायसंगत व्यवहार सुनिश्चित गर्नेछ”, विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विभागका अनुसार कुनै उडानलाई ‘दैनिक ढिलाइ भएको’ मानिन्छ, यदि त्यो उडान एक महिनामा कम्तीमा १० पटक सञ्चालन भएको छ र ५० प्रतिशतभन्दा बढी पटक ३० मिनेट ढिलो पुगेको छ । रद्द भएका उडानहरूलाई पनि ढिलाइका रूपमा गणना गरिन्छ ।
जेटब्लुले जुन २०२२ देखि नोभेम्बर २०२३ सम्म चारवटा दैनिक ढिलाइ भएका उडानहरू कम्तीमा १४५ पटक सञ्चालन गरेको थियो । तीमध्ये प्रत्येक उडान लगातार पाँच महिनाभन्दा बढी समय ढिलाइ भएको थियो । विभागले विशेष रूपमा जोन एफ. केनेडी इन्टरनेशनल एयरपोर्ट र राली–डरहमबीचको उडानको ढिलाइबारे चेतावनी दिएको थियो । त्यसपछि पनि एयरलाइन्सले तीनवटा अन्य दैनिक ढिलाइ भएका उडानहरू संचालन गरिरह्यो, जसमा फोर्ट लौडरडेल र ओरल्यान्डो, फ्लोरिडा तथा जेएफके र फोर्ट लौडरडेल तथा विन्डसर लक, कनेक्टिकटबीचका उडानहरू समावेश छन् ।
जेटब्लुका प्रवक्ताले एक वक्तव्यमा भने कि यात्रुहरूलाई समयमा गन्तव्यमा पु¥याउनु कति महत्त्वपूर्ण छ भन्ने कुरा एयरलाइनलाई थाहा छ र यसले उडानहरू तालिकाबद्ध रूपमा संचालन गर्न धेरै मिहिनेत गर्छ । पछिल्ला दुई वर्षमा, एयरलाइन्सले ढिलाइहरू कम गर्न, विशेष गरी हवाई यातायात नियन्त्रणको कमी र उत्तरपूर्व तथा फ्लोरिडामा भएका चुनौतीहरूको समाधानका लागि करोडौँ डलर लगानी गरेको बताए ।
“हामीले सन् २०२२ र सन् २०२३ का चारवटा उडानहरूसँग सम्बन्धित यस मामिलालाई समाधान गर्न एक सम्झौतामा पुगेका छौँ । तर, हामीलाई लाग्छ कि भरपर्दो हवाई यात्रा सुनिश्चित गर्न उत्तरदायित्व अमेरिकी सरकारमा पनि बराबर पर्छ । यो सरकार नै हाम्रो देशको हवाई यातायात नियन्त्रण प्रणाली सञ्चालन गर्छ,” वक्तव्यमा भनिएको छ ।
सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्मको विभागको तथ्यांकमा जेटब्लुका ७१.२९ प्रतिशत उडानहरू समयमा पुगेका थिए । यो कम्पनी मुख्य १० अमेरिकी एयरलाइन्सहरूमध्ये नवौं स्थानमा छ । त्यही अवधिमा हवाईयन एयरलाइन्सले आफ्ना ८२.६९ प्रतिशत उडानहरू समयमा संचालन गरेर पहिलो स्थान हासिल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्