Skip to content
Prabhu

सडक फराकिलो पार्न दरवाङवासीले पेटी र टहरा भत्काए

nabil

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक फराकिलो पार्न स्वःस्फुुर्त रूपमा पेटी र टहरा भत्काएका छन् । मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् ।

मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले उक्त योजना प्रभावित क्षेत्रका बासिन्दा आफैँ अग्रसर भएर पेटी र टहरा भत्काएर योजना कार्यान्वयनमा सहज बनाएका बताए ।

सडक विस्तार र स्तरोन्नतिका क्रममा प्रभावित क्षेत्रका घरधनीको अवरोध र विवादका कारणले प्रभावित भएको अवस्थामा दरवाङको तल्लो बजारका बासिन्दाले उदाहरण प्रस्तुत गरेका उनले बताए । हाल तीन दशमलव पाँच मिटर फराकिलो सडकलाई पाँच दशमलव पाँच मिटर फराकिलो बनाउन दायाँबायाँका संरचना हटाएका हुन् । दरवाङ बजारको अर्को टोलमा पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित सडक विस्तार आयोजना प्रभावित क्षेत्रका केही घरधनीको विवादका कारण प्रभावित बनेको छ ।

मालिका गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ४९ लाख बजेट विनियोजन गरेको दरवाङ बजार बाटो स्तरोन्नति योजनाअन्तर्गत हाल सडक फराकिलो बनाउने, नाली र टेवा पर्खाल निर्माणको काम भइरहेको उपभोक्ता समितिका सचिव कृष्णप्रसाद आचार्यले बताए ।

हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुङ्गे पुलतर्फ सडकको दायाँ र बायाँ करिब चार सय मिटर लामो नाली निर्माणको काम थालिएको सचिव आचार्यले बताए । पक्की नाली निर्माण भएपछि ढलान र कालोपत्रे गरेर अर्को वर्ष सडकलाई पक्की बनाउने योजना छ । तीन सय बढी घर रहेको दरवाङ बजारको अन्य टोलमा यसअघिका वर्षमा पक्की नाली र सडक निर्माण भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal