Skip to content

काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादन

nabil bank

बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष ५ करोड ४० लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब २ करोडले बढी हो । गत वर्ष यहाँका किसानले ३ करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ ।

यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको उनले जानकारी दिए । कँडेल यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताए । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उनको भनाइ छ ।

उनले भने, ‘काठेखोला–६ मा सुन्तला उत्पादन राम्रो छ, वडा–४ र ७ को केही क्षेत्रमा पनि सुन्तलाखेती भइरहेको छ, किसानलाई प्रोत्साहनका लागि समय–समयमा तालिम दिने गरेका छौं, ढुसीजन्य रोगबाट बचाउन नीलोतुथोदेखि प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएका छौं ।’ उनले यस वर्ष पनि सुन्तलाखेतीको क्षेत्र विस्तार गर्ने कार्यक्रम रहेको बताए ।

गाउँपालिकाले गत वर्ष किसानलाई पाँच हजार पाँच सय सुन्तलाका विरुवा र तीन हजार कागतीका बिरुवा वितरण गरेको थियो । काठेखोला–६ का किसान लोकनाथ कँडेलले यस वर्ष १२ लाख ५० हजार रुपैयाँको सुन्तला बेचिसकेको जानकारी दिँदै एक लाख रुपैयाँको बिक्री गर्न बाँकी रहेको बताए । आफ्नो बगैंचामा तीन सय बोट सुन्तला रहेको र यस वर्ष दुई सय १० बोटले फल दिएको उनको भनाइ छ ।

‘हरेक वर्ष सुन्तला उत्पादन बढ्दै गएको छ, नयाँ बोटले पनि फल दिन थालेका छन्, किसानले सुन्तला बगैंचा व्यवस्थापनमा पनि ध्यान दिन थालेपछि राम्रो फल्न थालेको छ’, कँडेलले भने, ‘मेरो बगैंचामा नयाँ ९० बोट सुन्तला छन्, अर्को वर्षदेखि फल दिन्छन्, सुन्तलाखेतीबाट आम्दानी राम्रो छ, पहिले कोदो मकै फल्ने ठाउँमा अहिले सुन्तला फलाउँछौँ ।’

किसान देवीलाल कँडेलले अघिल्लो वर्ष ३ लाखको सुन्तला बिक्री गरेको उल्लेख गर्दै अहिले ४ लाखभन्दा बढीमा बिक्री भएको बताए । व्यापारी बगैंचामै आएर सुन्तला खरिद गर्ने भएकाले बजारीकरणको समस्या नभएको उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime