काठमाडौं । नेपाल वायुसेवा निगममा देखिएका समस्या समाधान गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले शिशिर खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा देखिएका समस्या लामो समयदेखि समाधान हुन नसकेको भन्दै ती समस्याको अध्ययन गर्न उपसमिति गठन गरिएको हो ।
सिंहदरबारमा बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगश गौचन थकाली, सुनिता बराल रहेका छन् । समितिका निर्णयहरूबारे जानकारी गराउँदै समिति सभापति राजकिशोर यादवले नेपाल वायुसेवा निगम अध्ययन समितिले एक महिना भित्रमा प्रतिवेदन पेस गर्ने बताए । क्यानका बारेमा पनि आगामी बैठकबाट उपसमिति बनाएर जाने सभापति यादवले बताए ।
समितिले संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीन क्षेत्रकै बृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन निर्देशन दिएको छ । विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न नेपालमा जातीय र धार्मिक संग्रहालयहरुको निर्माण कार्यलाई तीब्रता दिइ पर्यटन प्रबर्द्धनमा जोड दिन निर्देशन दिएको छ ।
मन्त्रालयअन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवं निकायहरूको उपलब्धि र प्रभावकारिताबारे अध्ययन गरी सोको जानकारी समितिलाई उपलब्ध गराउन, पुरातात्विक सम्पदा उत्खननको कार्यलाई नियमित, मितव्ययी र परिणाममुलक बनाइ कार्य सम्पादनमा जोड दिन र भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरुको नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरुबीच सम्झौता, समन्वय र पहलकदमी लिन पनि पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याइ सोको प्रगति समय–समयमा समितिमा पेस गर्न र राष्ट्रिय महत्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अति आवश्यक निर्माणाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै पर्यटन क्षेत्रको प्रबर्द्धनका लागि बजारीकरण योजनासहित राजनीतिक कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
समितिले देशका विभिन्न जिल्लामा रहेका वायुसेवा निगमको स्वामित्वमा रहेका जग्गा तथा भौतिक संसाधनहरूको उपयोग, योजना निर्माण गरी यथाशीघ्र कार्यान्वयन गर्ने र सोको जानकारी समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्