Skip to content
Prabhu

वित्तीय सेवा तथा वित्तीय उपकरणको स्थिति : बागमतीको हिस्सा ६६ प्रतिशत, कर्णालीको १ प्रतिशत

काठमाडौं । सबै कुराले पछि परेको कर्णाली प्रदेश बैंकहरुको वित्तीय सेवा तथा वित्तीय उपकरणको पहुँचमा पनि निकै पछि देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी मधेस प्रदेशको वार्षिक प्रतिवेदनअनुसार कर्णाली प्रदेश वित्तीय सेवा तथा वित्तीय उपकरणको स्थितिमा निकै पछाडि देखिएको हो ।

केन्द्रीय बैंकको उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ अनुसार कुल निक्षेप, कुल कर्जा प्रवाह, कुल ग्राहक संख्या, मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ता, सहुलियत तथा विपन्न वर्ग कर्जा, कृषि कर्जा आदि सबैमा कर्णाली प्रदेश निकै पछि देखिएको छ । सात वटा प्रदेशमध्ये कर्णाली सातौं स्थानमा रहेको छ । यी सबै सूचकमा बागमती प्रदेश सबैभन्दा अगाडि छ ।

संघीय राजधानी भएकाले पनि बहुसंख्यक आर्थिक गतिविधि बागमती प्रदेशको काठमाडौं उपत्यकाभित्र हुने भएकाले बैंक तथा वित्तीय संस्थाहरूको मुख्य बजार पनि सोही क्षेत्र बढी देखिन्छ । ग्रामीण क्षेत्रको भन्दा सहरी क्षेत्रमा बैंकहरुको पहुँच धेरै देखिएको छ । कर्णाली प्रदेशमा कुनै पनि सूचक १ प्रतिशतभन्दा माथि छ भने त्यो हो पुनर्कर्जा । जसमा कर्णालीको हिस्सा २.४५ प्रतिशत रहेको छ । अन्य सबैमा कर्णालीको हिस्सा १ प्रतिशतमा नै सीमित रहेको छ ।

प्रतिवेदनअनुसार कुल निक्षेप परिचालनमा बागमती प्रदेशको अंश सबैभन्दा बढी अर्थात् ६६.७२ प्रतिशत रहेको छ । यस अवधिमा कर्णाली प्रदेशको यस्तो अंश सबैभन्दा कम १.१६ प्रतिशत मात्र छ । कुल निक्षेप परिचालनमा सुदूरपश्चिमको हिस्सा २.३० प्रतिशत, मधेस प्रदेशको अंश ५.३९ प्रतिशत रहेको छ । त्यस्तै कोशीको ७.३७ प्रतिशत, गण्डकीको ८.२४ प्रतिशत र लुम्बिनीको ८.८२ प्रतिशत रहेको छ ।

प्रतिवेदनअनुसार कुल कर्जा प्रवाहमा बागमती प्रदेशको अंश ५७.८० प्रतिशत देखिएको छ भने कर्णाली प्रदेशको १.१५ प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा मधेस प्रदेशको अंश सुदूरपश्चिम प्रदेशको अंश २.९६ प्रतिशत रहेको छ भने गण्डकीको ६.६७ प्रतिशत रहेको छ । मधेस प्रदेशको अंक ९.२७ प्रतिशत, लुम्बिनीको १०.८६ र कोशी प्रदेशको ११.२१ प्रतिशत रहेको छ ।

त्यस्तै कृषि क्षेत्रमा प्रवाहित कुल कर्जामा पनि बागमती प्रदेश नै सबैभन्दा अघि रहेको छ । त्यसमा पनि कर्णाली प्रदेश नै सबैभन्दा पछि रहेको छ । बागमती प्रदेशमा यस्तो कर्जाको हिस्सा ३४.५६ प्रतिशत रहेको छ । कर्णाली प्रदेशमा १.५५ प्रतिशत छ । त्यस्तै यस्तो कर्जा सुदूरपश्चिममा ४.७४ प्रतिशत रहेको छ भने गण्डकीमा ८.१७ प्रतिशत मात्रै छ । त्यस्तै लुम्बिनीमा १५.०९ प्रतिशत, कोशीमा १७.२२ प्रतिशत र मधेस प्रदेशमा कृषि क्षेत्रमा १८.६६ प्रतिशत कर्जा प्रवाह भएको छ ।

सबैभन्दा बढी विपन्न र कमजोर आर्थिक अवस्था भएको कर्णालीमा विपन्न वर्गमा प्रवाहित हुने कर्जाको हिस्सा पनि जम्मा १.४१ प्रतिशत मात्रै रहेको छ । यो शीर्षकोको कर्जा प्रवाहमा पनि बागमती प्रदेश नै सबैभन्द अघि रहेको छ । यस्तो कर्जामा बागमती प्रदेशमा ४७.२६ प्रतिशत छ । त्यस्तै यस्तो कर्जाको हिस्सा सुदूरपश्चिमा ३.१६ प्रतिशत, गण्डकीमा ९.९९ प्रतिशत, मधेश प्रदेशमा ११.०२ प्रतिशत रहेको छ । त्यस्तै लुम्बिनीको १२.१२ प्रतिशत र कोशीको १५.०३ प्रतिशत हिस्सा रहेको छ ।

सहुलियतपूर्ण कर्जातर्फ सबैभन्दा बढी बागमती प्रदेशमा ३५.२२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा १.५७ प्रतिशत प्रवाह भएको छ । त्यस्तै यो शीर्षकको कर्जा प्रवाहमा सुदूरपश्चिमको हिस्सा ५.५१ प्रतिशत, मधेस प्रदेशको १२.९१ प्रतिशत, गण्डकीको १३.४७ प्रतिशत, लुम्बिनीको १५.४३ प्रतिशत र कोशीको १५.९८ प्रतिशत हिस्सा रहेको छ ।

प्रतिवेदन अनुसार पुनरकर्जा तर्फ बागमति प्रदेशको हिस्सा २६.८६ प्रतिशत रहेको छ। जुन दोस्रो सबैभन्दा धेरै हो । यो शीर्षकमा सबैभन्दा धेरै हिस्सा लुम्बिनीको ३१.५३ प्रतिशत रहेको छ । त्यस्तै यस्तो कर्जाको हिस्सा कोशीमा ३.८१ प्रतिशत, मधेसमा ८.९९ प्रतिशत, गण्डकीको १४.४५ प्रतिशत, सुदुरपश्चिमको ११.८१ प्रतिशत र कर्णालीको २.४५ प्रतिशत रहेको छ ।

प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार ३५२ वटा छन् । जसमध्ये सबैभन्दा धेरै शाखा बागमती प्रदेशमा छन् । जहाँ ३ हजार ३८ वटा शाखाहरु रहेका छन् । शाखा संख्या पनि सबैभन्दा कम कर्णाली प्रदेशमा ४७५ मात्रै छन् । यो अवधिमा कोशी प्रदेशमा १ हजार ८३७ वटा बैंक तथा वित्तीय संस्थाका शाखाहरु रहेका छन् ।

त्यस्तै मधेश प्रदेशमा १ हजार ५७९ वटा शाखा छन् । त्यस्तै गण्डकीमा १ हजार ४०० वटा, लुम्बिनीमा २ हजार १७५ वटा र सुदूरपश्चिममा ८४८ वटा बैंक तथा वित्तीय संस्थाका शाखाहरु छन् ।

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । प्रतिवेदनअनुसार बागमती प्रदेशमा कुल मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या ६६ लाख १६ हजार चार सय ६५ रहेकोमा सबैभन्दा कम कर्णाली प्रदेशमा पाँच लाख १९ हजार नौ सय २१ रहेको छ । मधेश प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ता १७ लाख ५५ हजार पाँच सय ५६ रहेको प्रतिवेदनमा उल्लेख छ ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या बागमती प्रदेशमा सबैभन्दा बढी ६ लाख ६८ हजार ६७२ रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा १५ हजार २९१ रहेको छ । त्यस्तै कोशी प्रदेशमा १ लाख २५ हजार ६९४, मधेश प्रदेशमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या ९० हजार ३०३, गण्डकी प्रदेशमा १ लाख ५५ हजार ३४१, लुम्बिनी प्रदेशमा १ लाख ८२ हजार २६४ र सुदूरपश्चिम प्रदेशमा ३७ हजार २७२ जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता रहेका छन् ।

त्यस्तै, यो अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या कोशी प्रदेशमा २३ लाख ५६ हजार ९८२, मधेश प्रदेशमा १७ लाख ५५ हजार ५५६, बागमती प्रदेशमा ६६ लाख १६ हजार ४६५, गण्डकी प्रदेशमा २६ लाख ६३ हजार ५७८, कर्णाली प्रदेशमा ५ लाख १९ हजार ९२१ र सुदूरपश्चिम प्रदेशमा १० लाख ५६ हजार १ जना रहेका छन्।

त्यस्तै एटिएम मेसिन कोशी प्रदेशमा ६८१ वटा मधेश प्रदेशमा ५०१ वटा, बागमतीमा २ हजार ३४२ वटा, गण्डकीमा ६०५ वटा, लुम्बिनीमा ७ण्१ वटा, कर्णालीमा १११ वटा र सुदूरपश्चिममा २५२ वटा छन् ।

शाखारहित बैंकिङ सेवा सबै भन्दा धेरै कोशी प्रदेशमा २७३ र सबैभन्दा कम कर्णाली प्रदेशमा २८ वटा रहेका छन् । त्यस्तै मधेस प्रदेशमा १३६ वटा शाखारहित बैंकिङ रहेका छन् । त्यस्तै बागमतीमा १९५ वटा, गण्डकीमा १२७ वटा, लुम्बिनीमा १९९ वटा र सुदूरपश्चिमा १७१ वटा शाख रहित बैंकिङ काउन्टर रहेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal