एजेन्सी । अमेरिकाको लस एन्जल्समा लागेको आगो नियन्त्रणमा लिन कैयौँ विमानहरुले निरन्तर पिंक लिक्वड अर्थात् गुलाबी रङको एक तरल पदार्थ आगोमा खसालिरहेको देखिएको छ । लस एन्जल्समा जङ्गलको आगोले धेरै आवासीय क्षेत्रलाई आफ्नो चपेटमा लिइसकेको छ । यस आगोका कारण मर्नेहरूको संख्या बढेर २४ पुगेको छ ।
यस आगोका कारण अहिलेसम्म अरबौं डलरको सम्पत्ति नोक्सान भएको छ । आइतबार मौसमको अनुगमन गर्ने एक निजी कम्पनीले आगोका कारण लगभग २५० अरब अमेरिकी डलरको आर्थिक नोक्सानको अनुमान गरेको छ । यस आगो नियन्त्रणका लागि फायर फाइटरहरू निरन्तर प्रयासरत छन् र अझै पनि धेरै स्थानहरूमा तिनको प्रयास जारी छ ।
के हो यो पिंक लिक्विड?
लस एन्जल्समा हवाई जहाजबाट आगोमा गुलाबी अर्थात् पिंक रङको लिक्विड खसालिएको छ । वास्तवमा यो एक फायर रिटार्डेन्ट हो, अर्थात् यस्तो पदार्थ जसले आगो लाग्ने वा जल्ने प्रक्रियालाई ढिलो पार्दछ ।
यो गुलाबी पदार्थमा मुख्यतः अमोनियम फोस्फेट मिश्रित हुन्छ । आगो बल्नका लागि अक्सिजनको आवश्यकता हुन्छ । यो रासायनिक मिश्रण आगोलाई अक्सिजन प्राप्त गर्नबाट रोक्छ । यसले आगो फैलिन दिँदैन ।
इन्डियन एक्सप्रेसको एक समाचारका अनुसार यो अमोनियम पोलिफोस्फेट जस्तो साल्ट्स (रासायनिक पदार्थ) बाट बनेको हुन्छ । यो लामो समयसम्म सतहमा रहन्छ । यसबाट त्यो सतह (जहाँ आगो लागेको छ) अक्सिजन प्राप्त गर्न सक्दैन र आगो लप्काको गति ढिलो हुन्छ । यसरी यो तरल पदार्थ आगो फैलिनबाट रोक्ने काम गर्दछ ।
आगो निभाउनका लागि प्रयोग हुने यो रासायनिक पदार्थलाई गुलाबी रङ त्यसकारण दिइन्छ ताकि दमकलकर्मीहरूले थाहा पाउन सकून् कि यसलाई कहाँ प्रयोग गरिएको छ । यसका अतिरिक्त यो रङ आगोको असरमा परेको क्षेत्रलाई पनि स्पष्ट रूपमा देखाउँछ । यसबाट मानिसहरूले थाहा पाउँछन् कि कुन क्षेत्र आगोको प्रभावमा परेको छ ।
आगो निभाउने यो प्रविधि विवादास्पद पनि रहेको छ किनकि यस रासायनिक पदार्थले मानव र वातावरणमा नकारात्मक असर पुर्याउन सक्छ र यसबारे चिन्ता व्यक्त गरिएका छ ।
आगो कति भयावह?
न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार हाल नौ वटा ठूला हवाई जहाज र पानी छर्कने २० हेलिकप्टरलाई आगो निभाउन खटाइएको छ । अमेरिकाको लस एन्जल्समा फायर फाइटरका अनुसार तीन स्थानहरूमा अझै पनि आगो निभाउने काम जारी छ । यहाँ कम्तीमा छ वटा स्थानमा आगो लागेको थियो, जसमा केही स्थानहरूमा आगोमा नियन्त्रत्रण गर्न सकिएको छैन ।
त्यसैगरी इटन र हस्र्टमा अझै पनि आगोको प्रभावमा ठूलो भाग रहेको छ । अहिलेसम्म केनेथमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको छ । आगोका कारण अहिलेसम्म लस एन्जल्समा २४ जनाको मृत्यु भएको छ ।
हजारौं एकरमा फैलिएको यस आगोका कारण लाखौं मानिसलाई क्षेत्र खाली गरेर सुरक्षित स्थानमा जानु परेको छ । यस आगोले यहाँ हजारौं घर र लाखौं गाडीहरू जलाइसकेका छन् । जसका घर आगोमा सखाप भएका छन्, तीमध्ये सामान्य व्यक्तिहरूसँगै धेरै सेलिब्रिटीहरू पनि छन् ।
नेटफ्लिक्सको शो नोबडी वान्ट्स दिसमा अभिनय गरेका अभिनेता एडम ब्रोडी र उनकी पत्नी लिटन मिस्टरको घर जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।
लस एन्जल्सको हलिवुड हिल्स क्षेत्रमा हजारौं भवनहरू नष्ट भएका छन् । यी भवनहरूमा घरहरू, स्कूलहरू र प्रतिष्ठित सनसेट बुलेवार्डमा स्थित व्यवसायिक भवनहरू समावेश छन् ।
के हो आगो फैलिनको कारण?
स्थानीय अधिकारीहरूले लस एन्जल्समा आगो लाग्ने कारण तीव्र हावाहुरी र सुक्खा मौसमलाई कारक मानेका छन् । जसका कारण रूख र बोटहरू सुक्खा भएका छन् र तिनीहरूमा आगो फैलिन सजिलो भएको छ । यद्यपि तीव्र हावाहुरी र वर्षा कमीले नै वर्तमान आगोको कारण बनेको छ ।
यस आगोको फैलिनको एक प्रमुख कारण भूमिदेखि समुद्र किनारको तर्फ बहने हावालाई मानिएको छ । करिब एक सय किलोमिटर प्रतिघण्टाको गतिमा बग्ने हावाले आगोलाई थप स्थानमा सल्काएका छन् ।
विशेषज्ञहरूको भनाइमा, जलवायु परिवर्तनले परिस्थितिहरू परिवर्तन गर्दैछ । यसका कारण आगोको सम्भावना लगातार बढ्दै गएको छ ।
अमेरिकी सरकारको अनुसन्धानमा स्पष्ट रूपमा भनिएको छ कि पश्चिमी अमेरिकामा जङ्गलहरूमा लागेको ठूलो आगो जलवायु परिवर्तनसँग सम्बन्धित छ । अमेरिकामा महासागर र वातावरणसँग सम्बन्धित प्रशासनले भनिरहेको छ, “बढ्दो गर्मी, लामो समयसम्मको सुक्खा र जलवायु परिवर्तन पश्चिमी अमेरिकाका जङ्गलहरूको आगोको खतरा र यसको फैलिनको प्रमुख कारण भएको छ ।”
अमेरिकामा दक्षिणी क्यालिफोर्नियामा आगो लाग्ने मौसम सामान्यतया मेदेखि अक्टोबरसम्मको मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्