एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही हप्तामा क्यानडा, मेक्सिको र ग्रीनल्यान्डलाई आफ्नो देशमा समेट्ने कुरा गरेका छन् । उनले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउनुपर्ने र पानामा नहरलाई अमेरिकाको नहर बनाउने भनेका छन् । साथै मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर अमेरिकाको खाडी राख्न सुझाव दिएका छन् ।
यस महिनाको सुरुमा, ट्रम्पलाई सोधिएको थियो कि के उनी स्वायत्त डेनिस क्षेत्र ग्रीनल्यान्ड वा पानामा नहरका लागि सैन्य वा आर्थिक बल प्रयोग गर्नेछन ? यस प्रश्नमा उनले भनेका थिए, “म तपाईंलाई यी दुबैको विषयमा कुनै भरोसा दिलाउन सक्दिन ।” तर ग्रीनल्यान्डको मामलामा उनले एक कदम अगाडि बढ्दै भनेका थिए कि अमेरिकालाई आफ्नो राष्ट्रिय सुरक्षाको दृष्टिले ग्रीनल्यान्ड आवश्यक छ ।
ट्रम्पले ग्रीनल्यान्ड किन्ने कुरा गरेका थिए । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा राष्ट्रिय सुरक्षा र संसारमा जहाँ पनि जाने स्वतन्त्रताको हिसाबले अमेरिका यसलाई मान्दछ कि ग्रीनल्यान्डमाथि हाम्रो नियन्त्रण अत्यन्तै जरुरी भनी लेखेका थिए ।
ग्रीनल्यान्डका प्रधानमन्त्री म्युट इगाले स्पष्ट रूपमा ग्रीनल्यान्ड त्यहाँका जनताको हो र यो बिक्रीमा छैन भनेका थिए । ग्रीनल्यान्ड स्वतन्त्र राष्ट्र होइन, तर यो डेनमार्कको एक स्वायत्त क्षेत्र हो ।
पुरानो महत्त्वाकांक्षा
ग्रीनल्यान्डप्रति ट्रम्पको यो महत्त्वाकांक्षा कुनै नयाँ कुरा होइन । सन् २०१९ मा उनले यसलाई शानदार रियल इस्टेट सम्झौता भएको बताउँदै भनेका थिए । यद्यपि, उनले त्यस समयमा यसलाई खरिद गर्नु आफ्नो प्राथमिकतामा छैन भनेका थिए ।
ह्वाइट हाउसका तत्कालीन आर्थिक सल्लाहकार लेरी कुडलोले (फक्स न्यूज सन्डे)लाई दिएको एउटा अन्तर्वार्तामा ट्रम्प प्रशासनले ग्रीनल्यान्डमा ध्यान केन्द्रित गर्नुपछाडिको कारण बताएका थिए । उनले भनेका थिए, “यो एउटा रणनीतिक स्थान हो, जहाँ बहुमूल्य खनिज पदार्थ छन् ।”
ट्रम्पले जनवरी २० मा अमेरिकाको सत्ता सम्हाल्नेछन् । यसबीच, ट्रम्पले ग्रीनल्यान्डको बारम्बार उल्लेख गरिरहेको अवस्थालाई हेर्दा यस्तो लाग्छ कि रिपब्लिकन पार्टीका भविष्यका योजनाहरूमा ग्रीनल्यान्डको महत्त्व बढ्दै गएको छ । विशेषज्ञहरूले पछिल्ला दिनहरूमा ग्रीनल्यान्डका खनिजहरूको म्यापिङ र यस वरपरको बदलिँदो आर्थिक वातावरणलाई यससँग जोडेर हेरेका छन् ।
दुर्लभ खनिज
ग्रीनल्यान्ड आफ्नो रणनीतिक अवस्थाका कारण नै अमेरिकाको नजरमा रहँदै आएको छ । दोस्रो विश्वयुद्धको समयमा यसलाई नाजीहरूलाई रोक्ने मार्गका रूपमा हेरिएको थियो ।
शीतयुद्धका बेला यो युरोप र उत्तरी अमेरिकाबीचको समुद्री मार्गहरूमा नियन्त्रण कायम गर्न सकिने स्थानका रूपमा हेरिन्थ्यो । यसको भौगोलिक स्थिति आर्कटिकको नजिक भएकोले यसको महत्त्व झन् बढेको थियो ।
अमेरिकी सेनाले दशकौंसम्म अटलान्टिक र आर्कटिक महासागरबीचको पिटफिक स्पेस बेस सञ्चालन गर्दै आएको छ । जसलाई पहिले थुले एयर बेसको नामले चिनिन्थ्यो । यो बेस ब्यालिस्टिक मिसाइलहरूमा निगरानी राख्न प्रयोग गरिन्छ ।
तर, डेनमार्क र ग्रीनल्यान्डका भूवैज्ञानिक सर्वेक्षणद्वारा सन् २०२३ को मध्यमा प्रकाशित प्रतिवेदनले देखाएको छ कि यहाँको चार लाख वर्ग किलोमिटर क्षेत्रफल, जसलाई हिउँले ढाकेको छैन, त्यहाँ ३८ खनिजको हल्का वा भारी भण्डार फेला परेको छ । यी सबै खनिजहरू युरोपेली आवश्यक सामग्रीको सूचीमा समावेश छन् ।
यहाँ कपर, ग्रेफाइट, नियोबियम, टाइटेनियम, र रोडियमजस्ता ठूला भण्डार मात्र नभई दुर्लभ पृथ्वी खनिजहरूको पनि उल्लेखनीय मात्रा पाइन्छ ।
नियोडिमियम र प्रेसियोडिमियम जस्ता खनिजमा विशेष चुम्बकीय गुण हुने गर्छ, जसले ती विद्युतीय गाडीहरू र पवन ऊर्जा उत्पादनका लागि आवश्यक टर्बाइनको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।
मिशिगन विश्वविद्यालयका प्राध्यापक र भूगर्भविद् एडम सिमोनले भनेका छन्, “सारा संसारको दुर्लभ पृथ्वी तत्वहरूको २५ प्रतिशतसम्म ग्रीनल्यान्डमा हुन सक्छ ।”
यो सामग्रीको परिमाण करिब १५ लाख टन हुन सक्ने अनुमान छ।
चीनसँग प्रतिस्पर्धा
जलवायु परिवर्तनको यस समयमा दुर्लभ पृथ्वी खनिजको माग अत्यन्तै बढ्दै गएको छ । जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने प्रयासस्वरूप स्वच्छ र पुनः प्रयोगयोग्य ऊर्जालाई प्रवद्र्धन गरिँदै छ ।
यसै कारण, दुर्लभ खनिजहरूको मागमा ठूलो वृद्धि भइरहेको छ । यही कारणले गर्दा विश्वका ठूला शक्तिहरू संसारभर रहेका यी खनिज भण्डारमाथि कब्जा जमाउन प्रतिस्पर्धा गरिरहेका छन् ।
प्राध्यापक एडम सिमोनका अनुसार सन् २०२४ सम्म हामीले सन् १९६० को तुलनामा करिब ४ हजार पाँच सय प्रतिशतभन्दा बढी दुर्लभ पृथ्वी खनिजहरूको प्रयोग गरिरहेका छौँ । ग्रीनल्यान्डमा यस्ता खनिजहरूको खानी सञ्चालन चाँडै सम्भव भए पनि, अहिलेको आवश्यकता पूरा गर्न यी खनिजहरूको अझै ठूलो परिमाण चाहिनेछ ।
हाल चीन दुर्लभ पृथ्वी खनिजको उत्खनन र प्रशोधन बजारमा हावी छ । चीनमा हाल विश्वका करिब एक–तिहाइ दुर्लभ पृथ्वी खनिज छन् । त्यस्तै, उत्खननमा ६० प्रतिशत र प्रशोधनमा ८५ प्रतिशत हिस्सा चीनकै छ ।
हाल ग्रीनल्यान्डमा दुर्लभ पृथ्वी खनिज उत्खनन गर्ने दुईवटा खानी कम्पनीहरू अस्ट्रेलियन हुन् । तर तीमध्ये एकमा चीनको सरकारी माइनिङ कम्पनी शेंग्घे रिसोर्सेजको लगानी छ । चीनले ग्रीनल्यान्डमा आफ्नो उपस्थिति विस्तार गर्न वर्षौंदेखि प्रयास गर्दै आएको छ ।
चिनियाँ निर्माण कम्पनीहरूले ग्रीनल्यान्डमा कम्तिमा दुईवटा विमानस्थल बनाउने प्रयास गरेका थिए । तर डेनमार्कका कम्पनीहरूले ती प्रयासलाई पछि धकेलेका थिए । यसमा अमेरिकाको डेनमार्कमाथिको दबाबले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।
यस क्षेत्रमा चीनको सक्रियताले अमेरिका सतर्क बनेको छ । अमेरिका चीनलाई आफ्नो प्रमुख प्रतिद्वन्द्वी मान्छ ।
ट्रम्प प्रशासनको पहिलो कार्यकालमा दुर्लभ पृथ्वी खनिजलाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण सामग्रीको रूपमा सूचीकृत गरिएको थियो । त्यसबेला ट्रम्प प्रशासनले ग्रीनल्यान्ड र अमेरिकाबीच प्राविधिक र वैज्ञानिक विकासमा सहकार्यका लागि सम्झौतामा हस्ताक्षरसमेत गरेको थियो ।
मस्कको चासो
यदि ट्रम्पको पहिलो कार्यकालमै दुर्लभ पृथ्वी खनिजहरू र ग्रीनल्यान्डप्रति चासो देखाइएको छ भने, यसको अर्थ यसमा टेस्लाका सीईओ एलन मस्कको भूमिका हुनसक्छ । टेस्ला विद्युतीय गाडीको दुनियाँमा सबैभन्दा ठूलो कम्पनी हो । यस पक्षलाई बेवास्ता गर्न सकिँदैन ।
प्राध्यापक एडम सिमोन भन्छन्, “निश्चित रूपमा, लिथियम, कपर, निकल, ग्रेफाइटजस्ता दुर्लभ पृथ्वी खनिजहरूको ग्लोबल उपलब्धताप्रति टेस्लाको चासो छ । यति महत्त्वपूर्ण खनिजको उपलब्धतामा निर्भर कम्पनीको सीईओ राजनीतिक निर्णय गर्ने स्थितिमा भएमा, स्वार्थको टकराव हुनसक्छ । यसले यस्ता खनिजहरूको विश्वव्यापी उपलब्धता प्रभावित हुनसक्छ ।”
कूल २१ लाख वर्ग किलोमिटर क्षेत्रफल रहेको ग्रीनल्यान्ड टापुको जनसङ्ख्या केवल ५७ हजार छ । विभिन्न प्रकारको स्वायत्तता भएको ग्रीनल्यान्डको अर्थतन्त्र डेनमार्कको अनुदानमा निर्भर छ, र यो डेनमार्कको राज्य साम्राज्यको हिस्सा हो । यो टापुको करिब ८० प्रतिशत भाग स्थायी रूपमा बाक्लो हिउँले ढाकिएको छ ।
ट्रम्प ग्रीनल्यान्ड किन्ने सुझाव दिने पहिलो अमेरिकी राष्ट्रपति भने होइनन् । सन् १८६० को दशकमा अमेरिकाका १७औँ राष्ट्रपति एन्ड्रयू जोन्सनले पहिलो पटक यस्तो विचार राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्