एजेन्सी । अमेरिकी रिसर्च कम्पनी हिंडनबर्ग बन्द हुने भएको छ । कम्पनीका संस्थापक नेट एन्डरसनले यसबारे जानकारी दिएका छन् ।
हिन्डनबर्ग रिसर्चको वेबसाइटमा प्रकाशित व्यक्तिगत नोटमा एन्डरसनले भनेका छन्, “जसरी मैले गत वर्षको अन्त्यदेखि नै आफ्नो परिवार, साथीहरू र टिमलाई जानकारी गराएको थिएँ, मैले हिन्डनबर्ग रिसर्चलाई विघटन गर्ने निर्णय लिएको छु ।”
एन्डरसनले सन् २०१७ मा हिन्डनबर्ग रिसर्चको स्थापना गरेका थिए । उनले आफ्नो नोटमा यो निर्णय धेरै सोचविचारपछि लिएको बताएका छन् । एन्डरसनका अनुसार यो निर्णयको कुनै एक मात्र कारण छैन ।
कम्पनी बन्द गर्ने निर्णयबारे उनले लेखेका छन्, “कुनै एक विशेष कारण छैन । कुनै डर छैन, स्वास्थ्य समस्या पनि छैन, र निजी मुद्दा पनि होइन ।” उनले हिन्डनबर्ग आफ्नो जीवनको एउटा अध्यायमात्र भएको र यो आफ्नो जीवनको मुख्य केन्द्र नभएको बताएका छन् ।
हिन्डनवर्ग बन्द हुने समाचारपछि भारतको व्यवसायिक घराना अडानी समूहका मुख्य वित्तीय अधिकारी (सीएफओ) जुगेशिन्दर सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “कतिपय योद्धा आए, कतिपय गए ।” हिन्डनवर्गको रिसर्चका कारण अडानी समूह गत वर्ष समस्यामा परेको थियो । जसले गर्दा अडानी समूहका कम्पनीको शेयर मूल्यमा भारी गिरावट आउँदा ठूलो समस्या उत्पन्न भएको थियो ।
सम्बन्धित पृष्ठभूमि
एन्डरसनको यो निर्णय त्यस्तो समयमा आएको हो, जब डोनाल्ड ट्रम्पले आगामी जनवरी २० मा दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्ने तयारी गर्दैछन् । यसैगरी, हालै अमेरिकी संसदको न्याय समिति (जुडिसियरी कमिटी) का सदस्य तथा रिपब्लिकन लान्स गूडेनले अडानी केससँग सम्बन्धित सबै कागजात सुरक्षित राख्न न्याय विभागलाई आग्रह गरेका थिए ।
जुन २०२४ मा भारतको बजार नियामक निकाय, सेबीले हिन्डनबर्गलाई कारण देखाउ नोटिस जारी गरेको थियो । सेबीका अनुसार हिन्डनबर्गले अनुसन्धान विश्लेषकहरूका लागि तोकिएको नियम उल्लङ्घन गरेको थियो ।
हिन्डनबर्गले भारतमा सबैभन्दा ठूलो चर्चा त्यतिबेला पाएको थियो, जब उसले अडानी समूहविरुद्ध रिपोर्ट सार्वजनिक गरेको थियो । उक्त रिपोर्टमा अडानी समूहका मालिक गौतम अडानी र विनोद अडानीविरुद्ध गम्भीर आरोप लगाइएको थियो ।
यद्यपि अडानी समूहले ती आरोपहरूको खण्डन गरेको थियो । पछि, हिन्डनबर्गले सेबीकी अध्यक्ष माधबी बुच र उनका पतिविरुद्ध वित्तीय अनियमिततासम्बन्धी आरोप लगाएको थियो । माधबी बुच र उनका पतिको तर्फबाट ती आरोपहरूको खण्डन गरिएको थियो र सेबीले पनि यस विषयमा विज्ञप्ति जारी गरेको थियो ।
कम्पनीले के काम गर्दै आइरहेको थियो
अमेरिकी कम्पनी हिन्डनबर्ग रिसर्च अहिले बन्द हुन गइरहेको भए पनि यसको प्रमुख काम सर्ट सेलिङ थियो । यो कम्पनीहरूले आफ्नो रिपोर्टमार्फत ती कम्पनीहरूमा आफ्नो स्थिति निर्माण गथ्र्यो । यसबाट केही कम्पनीहरूको बजार मूल्यमा गिरावट आउन सक्ने सम्भावना थाहा पाउन सकिन्थ्यो ।
कम्पनीका संस्थापक नेट एन्डरसन आफूलाई एक्टिभिस्ट सर्ट सेलर भन्न रुचाउँछन् । हिन्डनबर्ग रिसर्च सन् २०१७ देखि सञ्चालनमा आएको हो र यसको दाबीअनुसार यसले अहिलेसम्म कैयौँ यस्ता रिपोर्टहरू सार्वजनिक गरेको छ, जसले अमेरिकाको सिक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनलगायत देश–विदेशका कम्पनीहरूको गैरकानुनी लेनदेन र वित्तीय अनियमिततालाई उजागर गरेको छ ।
हिन्डनबर्ग रिसर्चले अफिरिया, परशिङ गोल्ड, निकोला र केही अन्य प्रतिष्ठित कम्पनीहरूको वित्तीय अनियमितताहरू उजागर गरेको दाबी गरेको छ । कम्पनीको दाबीअनुसार, यसको रिपोर्ट र अन्य कार्यहरूले कैयौँ कम्पनीहरूको सेयर मूल्य गिराइसकेको छ ।
अडानीभन्दा पहिलेको ठूलो उजागर
अडानी समूहमाथिको रिपोर्टले चर्चा पाएभन्दा अघि हिन्डनबर्गको नाम ट्रक निर्माण कम्पनी निकोलासँग जोडिएको थियो । उक्त प्रकरण अदालतसम्म पुगेको थियो, जहाँ निकोला कम्पनीका संस्थापकलाई दोषी ठहर गरिएको थियो ।
हिन्डनबर्गका पछाडि को छन् ?
हिन्डनबर्ग रिसर्चका प्रमुख नेथन (नेट) एन्डरसन हुन् । एन्डरसनले सन् २०१७ मा यो कम्पनी स्थापना गरेका थिए । उनले अमेरिकाको कनेक्टिकट युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय व्यापार अध्ययन गरेका थिए ।
एन्डरसनले आफ्नो करियरको सुरुवात फ्याक्ट–सेट रिसर्च सिस्टम नामक डाटा कम्पनीबाट गरेका थिए । यस कम्पनीमा उनले इन्भेस्टमेन्ट म्यानेजमेन्ट कम्पनीसँग काम गरेका थिए । तर उनले महसुस गरे कि यी कम्पनीहरूले सामान्य विश्लेषण मात्र गरिरहेका थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, एन्डरसनले केही समय इजरायलमा एम्बुलेन्स चलाउने काम गरेका थिए । एन्डरसनको लिंक्डइन प्रोफाइलअनुसार, एम्बुलेन्स ड्राइभरको रूपमा काम गर्दा उनले उच्च दबाबमा कसरी काम गर्न सकिन्छ भन्ने कुरा सिके ।
एन्डरसनसँग चिकित्सा क्षेत्रमा चारसउय घण्टा काम गरेको अनुभव छ ।
कैयौँ अन्तर्वार्ताहरूमा एन्डरसनले आफ्नो रोल मोडलको रूपमा अमेरिकी लेखापाल ह्यारी मर्कोपोलोसलाई उल्लेख गरेका छन् । ह्यारीले सन् २००८ को प्रसिद्ध बेर्नार्ड म्याडफ पोन्जी योजना उजागर गरेका थिए । यही विषयमा आधारित नेटफ्लिक्स सिरिज ‘द मॉन्स्टर अफ वाल स्ट्रीट’ समेत सार्वजनिक भएको छ ।
हिन्डनबर्ग नाम कहाँबाट आएको हो ?
सन् १९३७, जर्मनीमा हिटलरको शासनकाल थियो । यस समयमा एउटा एयरशिप थियो, जसको नाम थियो— हिन्डनबर्ग एयरशिप । यस एयरशिपमा नाजी शासनको प्रतीक चिन्ह स्वास्तिक बनेको थियो । जब यो एयरशिप अमेरिकाको न्यूजर्सीमा देखियो, त्यहाँका मानिसहरूलाई केही असामान्य देखिन थाल्यो ।
अकस्मात एकदमै ठूलो विस्फोट भयो र आकाशमा देखिएको हिन्डनबर्ग एयरशिपमा आगो लाग्यो । त्यहाँ मानिसहरूको कराउने आवाज सुनिन थाल्यो । यत्तिकैमा एयरशिप जमिनमा खस्यो । तीस सेकेन्डभन्दा कम समयमा सबै नष्ट भइसकेको थियो ।
उक्त घटनामा बाँचेकालाई बचाउनका लागि केही मानिसहरू अघि बढे । केहीलाई बचाउन सम्भव भयो भने केहीलाई बचाउन निकै ढिलो भइसकेको थियो । जलिरहेको एयरशिपबाट निस्किएको धुवाँले आकाशलाई कालो बनाएको थियो । अब बाँकी रहेको थियो केवल एयरशिपको भग्नावशेष ।
यस एयरशिपमा १६ वटा हाइड्रोजन ग्यासका गुब्बारा थिए । एयरशिपमा लगभग एकसय जना मानिसलाई बलजफ्ती बसालिएको थियो । उक्त दुर्घटनामा ३५ जनाले ज्यान गुमाएका थिए ।
विश्लेषण अनुसार हाइड्रोजन गुब्बारामा यसअघि पनि दुर्घटनाहरू भइसकेका थिए । यदि त्यसबाट पाठ सिकिएको भए यो हिन्डनबर्ग एयरशिपको दुर्घटना रोक्न सकिन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्