काठमाडौं । अर्थ मन्त्रालयले आइबार चालु आर्थिक वर्षको ६ महिनाको अर्थतन्त्रको अवस्थाको विषयमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दियो । अधिकांश सूचकहरु हरियो देखाएर सार्वजनिक गरिएको तथ्यांकमा आम्दानी र खर्चको बीचमा ठूलो खाडल देखिएको छ । पुँजी गत खर्च न्यून देखिन्छ भने राजस्व संकलनसमेत निकै कम मात्रै भएको सरकारी तथ्यांकले नै देखाएको छ । तर, अर्थतन्त्रको चाबी बोकको तालुक मन्त्री भने यो नकारात्मक प्रचार भएको भन्दै अर्थतन्त्र सुधारको अवस्थामा भएको दाबी गर्छन् ।
अर्थमन्त्री विष्णु पौडेलले आइतबारको पत्रकार सम्मेलनमा अर्थतन्त्रमा यो सरकारले धेरै सुधार गरेर दाबी गरे । ‘अहिले नकारात्मक कुरा मात्रै गरिएको छ । सबै डुब्छ भनेर हल्ला गरिएको छ,’ उनले भने, ‘धेरै कामहरु भएका छन् । विस्तारै अवस्थामा सुधार आउँछ ।’ अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र र बैंक नडुबेको दाबी गरे । ‘बैंकहरू डुबेका छैनन्, अर्थतन्त्र डुबेको छैन, हामी छौं डुब्न दिन्नौं । यो कुरामा सम्पूर्णलाई विश्वास दिलाउन चाहान्छु,’ उनले भने । तर, कर्णाली डेभलपमेन्ट बैैंकमा समस्या आएर राष्ट्र बैंकले टेकओभर गर्नु परेको विषयमा भने उनले केही बोलेनन् ।
यो सरकारले सुधारका धेरै कार्यक्रम गरेको दाबी गरेका पौडेलले कुनै एक ठोस कार्यक्रम गरेको कुनै उदाहरण भने दिन सकेनन् । खाली नकारात्मक कुरा फौलाएको भन्दै सकारात्मक सहयोग हुनुपर्ने मात्रै बताए । के अहिलेको अर्थतन्त्र सुधारका लागि आम सञ्चारमाध्यमले सकारात्मक कुरा भन्दिँदा यो अवस्थाबाट पार पाउन सकिने हो र ? सरकारका मन्त्रीले गरेको दाबी एकातिर छ भने तथ्यांकमा भने अवस्था अर्कै छ ।
मन्त्रालयका प्रवक्ता महेश भट्टराईले प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वृद्धिदर गत आर्थिक वर्षको पुस मसान्तकको तुलनामा चालु आर्थिक वर्षको पुससम्ममा घटेको देखिन्छ । गत वर्ष ३.६ प्रतिशत देखिएको आर्थिक वृद्धिदर चालु आवको पहिलो ६ महिनामा ३.४ प्रतिशत मात्रै छ । त्यस्तै यो अवधिमा आयात ७ खर्ब ६८ अर्बबाट बढेर ८ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा आयात ७.१ प्रतिशतले बढेको छ । नेपालबाट हुने निर्यातको हिस्सामा पनि ३१ प्रतिशको वृद्धि देखिएको छ । तर, व्यपार घाटको अवस्था भने निकै ठूलो रहेको छ ।
आफ्नो उत्पादनमा खासै ध्यान नदिएको सरकारले राजस्व संकलन भएको १२.७ प्रतिशतको वृद्धिलाई नै सबैभन्दा ठूलो सफलता मानेको छ । यो अवधिमा ५ खर्ब ६७ अर्ब रुपैयाँको राजस्व संकलन भएको छ । तर, सरकारले आम्दानीको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ खर्ब रुपैयाँ बढी खर्च गरेको छ । यो अवधिमा सरकारले संघीय बजेटबाट गरेको खर्च ६ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । यस्तो खर्च वार्षिक बजेट विनियोजनको ३५.९ प्रतिशत हो ।
सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ खर्ब ७२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भए पनि लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै प्रगति गरेको छ । तर, खर्च भने गत वर्षको तुलनामा १ खर्ब रुपैयाँले बढेको छ ।
सरकारले पछिल्लो ६ महिनामा १ खर्ब ८१ अर्ब रुपैयाँ आन्तरिक ऋण, ५९ अर्ब ३ करोड वैदेशिक ऋण उठाएको छ । सरकारले वार्षिक रुपमा ५ खर्ब ४७ अर्बको ऋण उठाउने लक्ष्य लिएको छ । जसमा सरकारले हालसम्म ४३ प्रतिशत अर्थात २ खर्ब ४० अर्ब रुपैयाँ ऋण उठाएको छ ।
यो अवधिसम्ममा सरकारको आन्तरिक ऋण ११ अर्ब ८० अर्ब र वैदेशिक ऋण ११२ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिसम्ममा सरकारको कुल ऋण दायित्व २४ खर्ब ३४ अर्ब पेगेको छ । यस्तो ऋणका लागि सरकारले १ खर्ब ४९ अर्ब रुपैयाँ भुक्तानीसमेत गरिसकेको अर्थ मन्त्रालयले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्