काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा १६ प्रतिशतले वृद्धि भएको छ । बैंकहरुले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार विकास बैंकहरुको नाफा १६.०२ प्रतिशतले वृद्धि भएको हो ।
दोस्रो त्रैमासिकसम्मको अवधिमा सञ्चालनमा रहेका राष्ट्रिय स्तरका ८ विकास बैंकले २ अर्ब ५८ करोड ७६ लाख १२ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुले २ अर्ब २३ करोड २ लाख रुपैयाँ नाफा कमाएका थिए ।
राष्ट्रिय स्तरका विकास बैंकहरुमध्ये दुईवटाको नाफा घटेको छ भने बाँकी ६ वटाको नाफा बढेको छ । यो अवधिमा नाफा घट्ने विकास बैंककमा शाइन रेसुङ्गा र लुम्बिनी विकास बैंक रहेका छन् । यो अवधिमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा १०.८७ प्रतिशतले घटेको छ भने लुम्बिनी विकास बैंकको नाफा ३०.४६ प्रतिशतले घटेको छ ।
यो अवधिमा साइन रेसुङ्गाले ३३ करोड नाफा कमाएको छ । त्यो बैंकले गत आवको सोही अवधिमा ३७ करोड बढी नाफा कमाएको थियो । त्यस्तै लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १४ करोड नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा २१ करोड रहेको थियो।
चालु आर्थिक वर्षको ६ महिनामा सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ । यसअवधिमा बैंकले आफ्नो नाफा ७.१६ प्रतिशतले बढाएर ५४ करोड ९२ लाख रुपैयाँ पु¥याएको छ । बढी नाफा आर्जन गर्ने विकास बैंकको दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको भन्दा २७.०९ प्रतिशतले नाफा बढाएर ५० करोड ३१ लाख रुपैयाँ पुर्याएको छ ।
सर्वाधिक नाफा वृद्धि गर्नेमा ज्योति विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेकोछ । यसअवधिमा ज्योतिले आफ्नो नाफा १४७ प्रतिशतले बढाएर २५ करोड १ लाख पुर्याएको छ भने सांग्रिलाले ९६ प्रतिशतले बढाएर १९ करोड ६५ लाख रुपैयाँ पुर्याएको हो । त्यस्तै कामना सेवा विकास बैंकले ३२ करोड र महालक्ष्मी विकास बैंकको २८ करोड रुपैयाँ नाफा कमाउका छन् ।
प्रतिक्रिया दिनुहोस्