काठमाडौं । टोस्ट मास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले नेपालमा पहिलोपटक डिस्ट्रिक्ट अफिसर तालिम कार्यक्रम सम्पन्न भएको छ । साउन ६,७ र ८ मा आयोजना गरिएको यस तीन दिने कार्यक्रममा भारत र नेपालका ९० जनाभन्दा बढी डिस्ट्रिक्ट अफिसरहरु सहभागी थिए । उनीहरुले आफ्नो नेतृत्व सीप विकास गर्दै सामाजिक सम्बन्ध बढाउने मौका पाएका थिए ।
कार्यक्रममा डिस्ट्रिक ४१ का अनुभवी तथा उत्कृष्ट नेतृत्व पंक्तिहरुले प्रेरणादायी वक्तव्य दिँदै तालिम सञ्चालन गरेका थिए । अमेरिकामा सन् १९२४ देखि सुरु भएको टोस्टमास्टर्स इन्टरनेसनल हाल विश्वका १ सय ४९ राष्ट्रहरूमा फैलिएको छ ।
नेपालमा यो संस्था सर्वप्रथम सन् १९९१ मा सुरु भएको हो । कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट डाइरेक्टर डिटिएम अङ्कुर यादवले भने, ‘एक कुशल नेता ले संगठनप्रति प्रतिबद्धता, समाजप्रति कृतज्ञता र आफूप्रति सचेत रहन सक्नुपर्छ । हरेक वर्ष हामीले नयाँँ प्रेरणाको साथ काम गर्नुपर्छ र यस वर्ष केही नयाँ सिक्दै, आफूमा सकारात्मक परिवर्तन ल्याउँदै र आफूलाई सुधार्दै अघि बढ्नुपर्छ ।’
सोही उत्प्रेरणालाई निरन्तरता दिँदै पूर्व डिस्ट्रिक डाइरेक्टर डीटीएम रन्जित आचार्यले नेतृत्व वर्गलाई भने, ‘नेता हुनु भनेको सबैभन्दा उत्कृष्ट हुनु होइन कि हिजोको आफूभन्दा आजको आफू सुधारिनु हो । र तपाईंको प्रतिस्पर्धा अरु कोही नभएर तपाईं को विगत हो । यसमा सफल हुनको लागि तपाईंमा जिम्मेवार बोध हुनुपर्यो , चनाखो हुनु पर्यो, सधैं केही न केही गरी रहनु पर्यो र आफुले जे गरेको छ त्यसमा रमाउन सक्नु पर्यो ।’
तालिम समारोहमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार तथा बलिउडमा पनि आफ्नो प्रभुत्व जमाउन सफल प्रतिष्ठित कलाकार सुनिल थापाले प्रमुख अतिथिका रूपमा तालिमकर्तालाई सम्बोधन गरेका थिए । टोस्टमास्टर्स समुदायले समयप्रति देखाएको प्रतिबद्धता, व्यवस्थापन र व्यावसायिकताको प्रशंसा गर्दै उनले यो सीप व्यक्तिगत र व्यवसयिक जीवनमा पनि लागु गर्न सके धेरै प्रगति गर्न सकिने बताए ।
डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर तथा कार्यक्रमका अध्यक्ष डीटीएम सुमन शाक्यले कोभिडपछिको नौलो समयलाई इङ्गित गर्दै भने, ‘हामी टोस्टमास्टर्सहरुले एक कुशल नेतृत्वको रुपमा नयाँ–नयाँ चुनौतीहरुलाई सामना गर्न सिक्नुपर्छ र यसको मन्त्र भनेको राइज रि बिल्ड र रि भाइभ हो ।’
साथै, डिस्ट्रिक्ट ४१ का डीटीएम क्लब ग्रोथ डिरेक्टर मून प्रधान र उहाँको समूहले तालिम कार्यक्रमको नेतृत्व गर्नु भएको थियो । तालिममा टोस्टमास्टर्सको बजार प्रबर्द्धन गर्न, नयाँ क्लबहरू खोल्न तथा बिषयलाई पनि प्राथमिकता दिइएको थियो । भारतबाट आएका ६२ जना सहभागीले पनि नेपालीहरूको आतिथ्यको खुलेरै प्रशंसा गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्