काठमाडौं । नेपालमा प्लेटफर्म आधारित राइड सेयरिङ, कुरियर सेवा, खाना डेलिभरी र अन्य अनलाइन सेवामा कार्यरत श्रमिकहरूको हित र अधिकारको रक्षा गर्न ‘राइडर्स युनियन नेपाल’ गठन भएको छ।
यस युनियनको उद्देश्य अनलाइन प्लेटफर्मसँग सम्बन्धित सेवामा काम गर्ने श्रमिकहरूको कामको अवस्था सुधार गर्न र उनीहरूको हकहित सुनिश्चित गर्नु हो।
नेपाल ट्रेड युनियन महासंघसँग सम्बन्धित यो युनियन नेपालका विभिन्न शहरहरूमा कार्यरत राइडर्स, डेलिभरी ब्वाइ, र अन्य श्रमिकहरूको अधिकारको संरक्षणमा सक्रिय रहनेछ।
युनियनका सदस्यहरूले कामको समयमा गरिने शोषण, असुरक्षित कार्य अवस्था र न्यूनतम तलबका मुद्दामा संघर्ष गर्नेछन्। राइडर्स युनियन नेपालका अध्यक्षका रूपमा माधब प्रसाद पाण्डेको नेतृत्वमा यो युनियन गठन गरिएको हो।
अध्यक्ष पाण्डेले यस युनियनको स्थापना सँगै अनलाइन सेवामा काम गर्ने श्रमिकहरूको अधिकार र सुरक्षामा सुधार ल्याउने सुनिश्चितता दिएका छन्। साथै, युनियनले श्रमिकहरूको हकको पक्षमा आवाज उठाउँदै, उनीहरूको कामका लागि उचित मूल्य र सम्मान सुनिश्चित गर्ने कसम खाएका छन्।
यस युनियनको गठनले नेपालमा अनलाइन सेवा प्रदायक संस्थाहरूका बीच श्रमिकहरूको कामको अवस्था सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षासमेत गरिएको छ।






प्रतिक्रिया दिनुहोस्