Skip to content
Prabhu

वाणिज्य बैंकको खराब कर्जा उच्च, चारवटाको ५ प्रतिशतमाथि, १९ वटाको बढ्दा एभरेष्ट मात्रै घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार वाणिज्य बैंककोहरुको खराब कर्जा उच्च देखिएको छ । बैंकहरुले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वषएको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार एउटा बाहेक सबै बैंकको खराब कर्जा बढेको हो ।

पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्तताले कर्जा असुलीमा बैंकहरुले समस्या भोगिरहेका छन् । वित्तीय विवरणअनुसार चालु आवको दोस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकमध्ये १९ वटा वाणिज्य बैंकको खराब कर्जा बढेको छ । यो अवधिमा एभरेष्ट बैंकको मात्रै खराब कर्जा घटेको देखिएको छ ।

global
अर्घाखाँची सिमेन्ट

गत आवको पुस मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा औसतमा १.०९ बिन्दुले बढेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा ३.४० प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा औसत खराब कर्जा बढेर ४.४९ प्रतिशत पुगेको छ ।

बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पुस महिनासम्ममा सबै भन्दा धेरै खराब कर्जा कुमारी बैंकको रहेको छ । यो बैंकको खराब कर्जा ६.९६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा अनुपात ४.९७ प्रतिशत थियो ।

यस्तै, यो अवधिमा ५ प्रतिशतभन्दा बढी खराब कर्जा अनुपात भएका बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज र प्रभु बैंक छन् । यो अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा अनुपात ५.८६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.६७ प्रतिशत र प्रभु बैंकको ५.०६ प्रतिशत पुगेको छ ।

यी बाहेकका अरु बैंकहरुको खराब कर्जा ५ प्रतिशतकै हाराहारीमा रहेको छ । यो अवधिमा नेपाल बैंकको खराब कर्जा ४.९९ प्रतिशत रहेको छ । त्यस्तै हिमालयन बैंकको ४.९८ प्रतिशत, प्राइम कमर्सियल बैंकको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.९६ प्रतिशत, नबिल बैंकको ४.९३ प्रतिशत र कृषि विकास बैंकको ४.९० प्रतिशत खराब कर्जा रहेको छ । यो अवधिमा सिटिजन्स बैंकको खराब कर्जा ४.८५ प्रतिशत पुगेको छ भने ग्लोबल आइएमई बैंकको खराब कर्जा ४.८६ प्रतिशत पुगेको छ ।

विगतमा एकदमै आक्रामक देखिएको एनआईसी एशिया बैंकको खराब खर्चा यो अवधिमा सबै भन्दा धेरै बढेको छ । पछिल्लो समय बैंकको ऋण असुलीमा समस्या देखिएको छ । गत वर्षको पुस मसान्तसम्म १.१९ प्रतिशत खराब कर्जा रहेको थियो भने चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४.६१ प्रतिशत पुगेको छ ।
त्यस्तै यो अवधिमा सानिमा बैंकको खराब कर्जा ३.२२ प्रतिशत पुगेको छ । त्यस्तै यो अवधिमा सिद्धार्थ बैंकको खराब कर्जा ४.५० प्रतिशत, माछापुच्छ्रे बैंकको खराब कर्जा ४.५४ प्रतिशत, नेपाल एसबिआई बैंकको खराब कर्जा ३.५५ प्रतिशत, एनएमबि बैंकको ३.९६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.७१ प्रतिशत रहेको छ । यो अवधिमा खराब कर्जा अनुपात घटाएको एभरेष्ट बैंकको खराब कर्जा ०.६६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यो बैंकको यस्तो कर्जा ०.७७ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकले ५ प्रतिशतको सीमा नाघेमा लाभांश वितरण गर्न दिँदैन भने थप व्यवसाय बिस्तार गर्न नदिएर ऋण असुली गर्न निर्देशन दिने गर्दछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal