Skip to content
Prabhu

आर्थिक सुधारमा ओझेलमा परेका अर्थमन्त्रीः सेयर बजारले धोका दिएपछि ६ महिनाको कार्यकाल औसत

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल र सेयर लगानीकर्ताबीच सेयर बजारको भाषामा ‘बुलिस ट्रेण्ड’को सम्बन्ध थियो । चौथो कार्यकालको लागि अर्थमन्त्रीको पद समाल्न आइपुगेका पौडेलले विगतमा लामो समय काम नगरेको कारण सेयर बजार बढ्दा मात्र जसमात्र पाएका थिए । चौथोपटक अर्थमन्त्रीको पद समाल्ने भएपछि केही महिना सूचक बढ्यो पनि ।

तर, लगातार बैंक तथा वित्तीय संस्थाको ब्याजदर ओरालो लागे पनि बढ्छ भनिएको सेयर बजार बढ्न सकेन । ६ महिनामा सुधारका काम खासै गर्न नसकेका अर्थमन्त्री पौडेलले सरकारले अध्यादेश ल्याएपछि आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थतन्त्र सरकार बनेको बेलाभन्दा सुधार भएको बताए ।

अर्थमन्त्रीले पत्रकार सम्मेलनमा बैंकमा निक्षेप ब्याजदर घटेको तथा कर्जाको ब्याजदर घटेकोदेखि लिएर गतवर्षको तुलनामा राजस्व बढेको भन्दै सुधारको तथ्यांक पेस गरे । जबकी गतवर्षको तुलनामा जुन तहमा राजस्व बढ्नुपर्ने थियो, त्यो बढेको छैन । एमाले समेत संलग्न भएर माओवादी नेता वर्षमान पुनले ल्याएको बजेट अहिले पौडेलले कार्यान्वयन गरेका छन् ।

जसका केही लक्ष्यलाई अर्थमन्त्री पौडेलले बजेटको मध्यावधी समीक्षामार्फत संशोधन गर्ने छन् । कांग्रेससँग सरकार बनाउने बेला धेरैको अनुमान योपटक पौडेल अर्थमन्त्री बन्दैनन् भन्ने थियो । कांग्रेस सभापतिसँग हुने भेटघाटमा ओलीले पौडेललाई नराखेर महासचिव शंकर पोखरेललाई राखेका थिए । एमाले अध्यक्षसमेत रहेका ओलीले पार्टीको बैठकमा एमालेमा गुट नभएको भने पनि एमालेभित्र उपाध्यक्ष पौडेल र पोखरेलबीचको गुट निकै चर्को रूपमा देखिएको छ ।

महासचिव पोखरेलले आफ्नो शक्तिकै रूपमा पौडेलसँग नजिक भएको आधारमा एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री नबनाएर उपनेता रहेका चेतनारायण आचार्यले मुख्यमन्त्री बनाए ।

ओली सरकारले आर्थिक क्षेत्रलाई चलायमान बनाउन अध्यादेश मार्फत गरेको सुधारमा अर्थमन्त्री पौडेलको भूमिका खासै देखिएन । एमाले निकट व्यवसायीका अनुसार प्रधानमन्त्री ओली अर्थमन्त्री पौडेलसँग यो पटक सन्तुष्ट छैनन् । अर्थमन्त्रीले सार्वजनिक रूपमा प्रधानमन्त्री सन्तष्ट रहेको मिडियाले गलत समाचार बताए पनि ओलीको बुझाई पौडेलले काम गर्न नसकेको भन्ने छ ।

अर्थमन्त्री पौडेल भए पनि आर्थिक नीतिगत सुधारमा र अर्थतन्त्रको बारेमा प्रधानमन्त्रीले लिने सुझाव उनका आर्थिक सल्लाहकार डा युवराज खतिवडाको नै भर पर्छन् । योपटक आर्थिक सुधारसहित आएको अध्यादेश भने कांग्रेस महामन्त्री गगन थापा र एमाले महासचिव शंकर पोखरेलको टिमले बनाएको हो । यसमा खासै अर्थमन्त्री पौडेलको भूमिका देखिएन ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal