काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ९० अर्ब रुपैयाँ खिच्दै छ । पछिल्लो समय बैंकमा बढ्दो तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै तरलता खिच्दै आएको हो ।
राष्ट्र बैंकले दिउँसो २ बजे बोलकबोलको व्यवस्था गर्दै बैंक तथा वित्तीय संस्थाहरूसँग उक्त रकम संकलन गर्ने जानकारी दिएको छ । निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोल ब्याजदरमा हुनेछ भने बहुब्याजदर प्रणाली पनि अपनाउन सकिने राष्ट्र बैंकले जनाएको छ । यस प्रक्रियामा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।
यो निक्षेप २१ दिनको हुनेछ र माघ ३० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्