काठमाडौं । पुस महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीको व्यवसाय साढे ८० अर्बभन्दा माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको पुस महिनासम्मको विवरणअनुसार १४ वटा ठूला जीवन बीमा कम्पनीहरुको व्यवसाय ६ महिनामा ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ पुगेको हो ।
प्राधिकरणको तथ्यांकअनुसार ६ महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीको व्यवसाय पुस मसान्तसम्ममा २२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
धेरै व्यवसाय गर्ने कम्पनीको दोस्रो नम्बरमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले पुस महिनासम्मको अवधिमा ९ अर्ब ६० करोड बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै यो अवधिमा एलआइसी नेपालले ९ अर्ब ४६ करोड रुपैयाँको व्यवसाय गरेको छ भने हिमाल लाइफ इन्स्योरेन्सले ८ अर्ब ३३ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । प्राधिकरणको तथ्यांकअनुसार पुस मसान्तसम्ममा सूर्यज्योति लाइफले ५ अर्ब ६ करोड बढीको बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै यो अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ७७ करोड रुपैयाँ, मेट लाइफले २ अर्ब ८६ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब २१ करोड र आइएमई लाइफले २ अर्ब ४४ करोड रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् । पुस महिनासम्ममा सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने रिलायबल नेपाल लाइफले २ अर्ब ३८ करोडको व्यवसाय गर्न सफल भएको छ ।
यो अवधिमा सिटिजन्स लाइफले ३ अर्ब ३८ करोड रुपैयाँ, सानिमा रिलायन्स इन्स्योरेन्सले ३ अर्ब २४ करोड र प्रभु महालक्ष्मी लाइफले २ अर्ब ४२ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्