Skip to content

राष्ट्र बैंकले समस्या उन्मुख औंल्यापछि पोखरा फाइनान्सले गठन गर्यो मर्जर समिति

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षणले समस्या उन्मुख अवस्थामा पुगेको औंल्यापछि पोखरा फाइनान्सले मर्जर समिति गठन गरेको छ ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा गरेको स्थलगत निरीक्षणको क्रममा सञ्चालक समितिका कारण संस्था समस्या उन्मुख अवस्थामा पुगेको उल्लेख गरेको थियो ।

राष्ट्र बैंकको स्थलगत निरीक्षणको क्रममा पोखरा फाइनान्सको सञ्चालक समितिले आफूअन्तर्गतका समितिहरूमार्फत पर्याप्त निगरानी नगरेको कारण संस्था समस्या उन्मुख अवस्थामा पुगेको भन्दै राष्ट्र बैंकले सञ्चालक समितिलाई नै सचेत गराएको थियो ।

राष्ट्र बैंकले सचेत गराएपछि पोखरा फाइनान्सले प्राप्ति(समाहित, गाभ्ने वा गाभिनका लागि समिति गठन गरेको हो । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रविचन्द्र गुरुङले बताए । गुरुङका अनुसार फाइनान्सले स्वतन्त्र सञ्चालक तिलबहादुर गुरुङको संयोजकत्वमा २ सदस्यीय समिति गठन गरेको छ । समितिमा अर्का सदस्य प्रतीक गुरुङ छन् ।

संस्थाको २०७९ पुस ३० र २०८० पुस २९ गते भएका वार्षिक साधारण सभाहरुद्वारा उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गरी सो सम्बन्धमा आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय भएको थियो । सोहीबमोजिम मर्जर वा प्राप्ति समिति गठन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

पोखरा फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनी ६३ करोड ७९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सले २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो । पोखराको खुद ब्याज आम्दानी पनि १७.८३ प्रतिशतले घटेर १४ करोड ३० लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसले १७ करोड ४१ लख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । पुससम्ममा कम्पनी ९५ करोड ७९ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । गत वर्ष फाइनान्सले ४ करोड ३९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि ३ करोडबाट बढेर १ अर्ब ५२ लाख रुपैयाँ भएको छ । यसको वितरणयोग्य नाफा १ अर्ब ५५ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

उक्त कम्पनीको खराब कर्जा पनि अत्याधिक बढेको छ । गत वर्ष ४.७६ प्रतिशत रहेको यसको खराब कर्जा यो त्रैमासमा बढेर ३३.४४ प्रतिशत भएको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ९३ पैसा ऋणात्मक रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime