काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निपेक्ष रकम ६७ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीमा गरी निक्षेप ६७ खर्ब १४ अर्ब रुपैयाँ पुगेको हो ।
उक्त निक्षेप नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अद्यावधिक गरेको विवरण अनुसार २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको हो । बैंकिङ क्षेत्रमा कायम रहेको कुल निक्षेप रकममध्येमा वाणिज्य बैंकहरूमा मात्र कुल ५९ खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम पनि पछिल्लो अवधिमा ७ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा हाल कायम रहेको कुल कर्जा रकम भने ५४ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । उक्त कर्जामध्येमा वाणिज्य बैंकहरूको कुल कर्जा रकम ४७ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल कर्जा रकम ६ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ क्षेत्रमा हाल कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सिडी रेसियो) भने ७९.३० प्रतिशत रहेको छ ।
पछिल्लो समय क्षमता भएर पनि बजारमा कर्जाको माग नहुँदा वित्तीय क्षेत्रमा पछिल्लो समय अधिक तरलता बढ्दै गएको हो । यो अवधिमा अन्तर बैंकिङ ब्याजदर ३ प्रतिशत रहेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायम हुँदा राष्ट्र बैंकले बजारबाट लगातार रूपमा तरलता प्रसोचन गरिरहेको छ । बुधबार मात्रै राष्ट्र बैंकले २१ दिनका लागि ९० अर्ब रुपैयाँ खिचेको थियो ।
प्रतिक्रिया दिनुहोस्