Skip to content
Prabhu

स्याङ्जामा १४ वटा शीतभण्डार निर्माण

स्याङ्जा । स्याङ्जामा शीत भण्डार स्थापनासँगै यहाँ उत्पादित कृषिजन्य वस्तुको भण्डारमा सहज भएको छ । कृषिजन्य वस्तु उत्पादन भएकै समयमाभन्दा केही समय भण्डारण गरेर बिक्री गर्दा राम्रो बजार मूल्य पाउने भएकाले जिल्लाका विभिन्न पालिकामा शीतभण्डार स्थापना गरिएको हो ।

विशेष गरी जिल्लामा धेरैमात्रामा उत्पादन हुने सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारणका लागि शीत भण्डारले सहज भएको हो ।

global
अर्घाखाँची सिमेन्ट

स्याङ्जाका एघार स्थानीय तहमध्ये हाल आठ स्थानीय तहमा १४ शीत भण्डार निर्माण भएका कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए । उनका अनुसार विभिन्न क्षमतामा १४ वटा शीत भण्डार निर्माण भएपनि हाल १० वटा सञ्चालनमा रहेका छन् ।

‘केन्द्र, प्रदेश र स्थानीय सरकारको लागत साझेदारीमा स्याङ्जाका विभिन्न स्थानीय तहमा शीत भण्डार निर्माण भएका छन्’ उनले भने, ‘यहाँ सञ्चालनमा रहेका शीत भण्डारमा कृषिजन्य उत्पादनको भण्डारणमा सहज भएको छ ।’

जिल्लामा शीत भण्डार नहुँदाको बखतमा यसअघि भैरहवा, पोखरालगायतका ठाउँमा रहेका शीत भण्डारमा विशेष गरी सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारण गर्नुपर्ने बाध्यता रहेको थियो ।

स्याङ्जाको वालिङ नगरपालिकामा तीन, गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिकामा दुई÷दुईवटा, आँधीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, चापाकोट नगरपालिकामा एक÷एकवटा शीत भण्डार छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–११ जैंसीडाँडामा जिल्लामै सबैभन्दा ठूलो क्षमताको स्याङ्जा शीत भण्डार स्थापना भई सञ्चालनमा आएको छ । उक्त शीत भण्डारको क्षमता एक हजार दुई सय मेट्रिकटन रहेको छ ।

जिल्लामा हाल सञ्चालनमा रहेका १० वटा शीत भण्डारमा कुल दुई हजार १०० मेट्रिकटन कृषिजन्य उत्पादन भण्डारण गर्न सकिने उनले बताए । ‘अहिलेको समय जिल्लामा अधिक मात्रामा उत्पादन हुने सुन्तला तथा केहीमात्रामा आलु भण्डारण गरिएको छ’ उनले भने, ‘सुन्तला शीत भण्डारबाट निकालेपछि प्रायःसबैजसोमा आलु भण्डारण हुन्छ ।’

यहाँ उत्पादन भएको बीउ आलु भण्डारण गर्न भैरहवालगायतका ठाउँमा लैजाँदै आएकोमा गाउँमै शीत भण्डार स्थापना भएसँगै सहज भएको गल्याङ ११ जिमुहाँका अगुवा कृषक रुमलाल कडेलले बताए ।टाढा लैजानुपर्दा ढुवानी धेरै लाग्ने र समय पनि उत्तिकै धेरै लाग्ने गरेकोमा गाउँमै शीत भण्डार सञ्चालनमा आएपछि लागत कम लाग्ने गरेको उनले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal