काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवमा बैंकिङ प्रणालीको स्थायित्व र निक्षेपकर्ताको सुरक्षामा राष्ट्र बैंक सदैव तत्पर रहेको बताएका छन्।
‘कुनै संस्था समस्यामा पर्यो भने त्यसको तथ्यांक राष्ट्र बैंकमा हुन्छ । कुनै पनि वित्तीय संस्थालाई व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो हो,’ उनले भने, ‘राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई हामी कुनै पनि हालतमा समस्या पर्न दिँदैनौँ। त्यो हाम्रो प्रत्याभूति नै हो ।’
अधिकारीले वित्तीय संस्थाहरूले साना तथा ठूला कर्जाको परिचालनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। ‘व्यवसायको विस्तारका लागि बैंकहरूले अग्रसर भएर काम गर्नुपर्छ। कुनै समस्या भएमा राष्ट्र बैंकसँग छलफल गर्न हामी सधैं तयार छौं’, उनले थपे।
अधिकारीले राष्ट्र बैंकले समस्या समाधानका लागि कुनै पनि समयमा आवश्यक कदम चाल्न तयार रहेको उल्लेख गर्दै, ‘हामी समस्याको समाधानमा एक दिन होइन, एक घण्टा पनि कुर्न चाहँदैनौं।’
गभर्नर अधिकारीले बैंकका कर्मचारी संगठनलाई संस्थागत सुधार र अब्बल बैंकिङ सेवा प्रदान गर्न सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले संस्थागत विकासका लागि सकारात्मक सोचको आवश्यकता औंल्याउँदै भने, ‘सकेसम्म सबै समस्या समाधान गर्न हामी प्रयासरत छौं।’
अधिकारीका अनुसार कर्जाको दायरा बढाउँदै व्यवसायको ग्रोथलाई रोक्न नदिने नीति नै बैंकिङ क्षेत्रको प्राथमिकता हुनुपर्ने छ। साथै, साना कर्जाको व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गर्दै उनले आर्थिक वृद्धि र विकासका लागि बैंकिङ प्रणालीलाई थप सबल बनाउनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस्