काठमाडौंं । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा करिब साढे ७ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।
पछिल्लो समय जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढ्दै गएको देखिन्छ । आर्थिक शिथिलताका कारण बीमा पोलिसी सरेण्डर बढेको बिमा क्षेत्रका जानकारहरुको भनाइ छ । तथ्यांकअनुसार पुस मसान्तसम्ममा ५४ हजार ४१४ वटा बीमा पोलिसी सरेण्डर भएका छन् ।
यो अवधिमा सबैभन्दा धेरै एलआईसी नेपालको पोलिसी सरेण्डर भएको छ । पुस मसान्तसम्ममा यो कम्पनीका १३ हजार ९६८ वटा बीमा पोलिसी सरेण्डर भएका छन् । जसबाट २ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ सरेण्डर भएको छ ।
यो अवधिमा बीमा पोलिसी सरेण्डर हुनेको दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीको १२ हजार २४१ वटा बीमा पोलिसीवापत २ अर्ब २ करोड ३३ रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।
बीमा प्राधिकरणको तथ्यांकअनुसार सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ७ हजार २०७ पोलिसीबापत ६७ करोड ६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । त्यस्तै, नेशनल लाइफको ३ हजार १०४ पोलिसीबाट ४६ करोड ५१ लाख रुपैयाँ, मेट लाइफको १ हजार ७९४ पोलिसीबापत १९ करोड ६६ लाख र एसिएन लाइफको ४ हजार ४०५ पोलिसीमार्फत ४६ करोड ८१ लाख रुपैयाँ सरेण्डर भएको छ ।
त्यस्तै यो अवधिसम्ममा आइएमई लाइफको ९०८ पोलिसीमार्फत ९ करोड ८६ लाख रुपैयाँ, सन नेपाल लाइफको ३६१ पोलिसीबाट ३ करोड ५२ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफको ८६३ पोलिसीबाट ५ करोड ५६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।
त्यस्तै पुस मसान्तसम्ममा सूर्यज्योति लाइफको २ हजार ९४० पोलिसीबाट ३८ करोड ९४ लाख रुपैयाँ, हिमालयन लाइफको ३ हजार ५९० पोलिसी सरेण्डर हुँदा ३३ करोड २३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ९४२ पोलिसीबाट १३ करोड १२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ७०३ पोलिसीमार्फत ९ करोड ८२ लाख रुपैयाँ र सिटिजन्स लाइफको १ हजार ३८८ पोलिसी मार्फत ११ करोड ५८ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।
प्रतिक्रिया दिनुहोस्