काठमाडौँ । सन् २००९ को जनवरीमा जन्मिएको बालक यतिबेला १६ वर्ष पूरा भइसकेको छ । सम्भवतः उ यतिबेला स्कुले जीवन पूरा गर्ने तयारीमा छ । यो उमेर कुनै पनि व्यक्तिले भविष्यमा आफूले छनोट गर्ने करिअरको जग कस्ने समय पनि हो । मानिसको जीवनमा १६ वर्ष पुग्नुको अर्थ शारीरिक र मानिसक रुपमा परिपक्व पनि हुनु हो ।
तर एउटा संस्थाको हकमा १६ वर्ष पुग्नुको अर्थ के हो ?
नेपालको अग्र्रणी वालेट कम्पनी इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जगदिश खड्का भन्छन्, “मानिसको जीवनमा जस्तै हाम्रा लागि पनि यो समय नयाँ रपरिस्कृत बाटो खोज्नु हो, सन् २००९ मा जुन उद्देश्यका साथ इसेवा आएको थियो, सायद त्यो उद्देश्य पूरा भएको छ, अब हामी नयाँ योजनाका साथ अगाडि बढ्न जाँदै छौँ ।”
सीइओ खड्काका अनुुसार इसेवाका सुरुआती दिनमा क्यासलेस अर्थतन्त्रको अवधारणा विकास भइसकेको थिएन । सेवाग्राहीका लागि मात्रै नभइ मर्चेन्टदेखि नियामक निकायसम्मलाई यो सम्भव छ है भन्ने बुझाउन जरुरी थियो । आजका दिनमा इसेवा त्यो उद्देश्यमा सफलता हासिल गरेको छ ।
खड्का १६ वर्षे यात्रामा इसेवाले सजिलो, सरल, सहज र सुरक्षित तरिकाले डिजिटल कारोबार सम्भव छ भन्ने विश्वास दिलाउन सफल भएको मान्छन् । नेपालको डिजिटल कारोबारलाई यहाँसम्म ल्याउनका लागि इसेवाको ठूलो भूमिका छ भन्दै उनी डेढ दशकको यात्रामा एउटा पुस्तालाई लाइनबाट अनलाइनमा ल्याउने काम इसेवाले गरेकामा सन्तुष्ट छन् ।
“विजुलीको बिल तिर्न घण्टै हिँडेर लामो लाइनमा बस्ने पुस्तालाई अनलाइनमा ल्याउन इसेवाले जति खर्चिएको छ, त्यो आफ्ना लागि मात्रै थिएन, समग्र अर्थतन्त्रका लागि थियो, त्यसैको फल हो, आज एक महिनामा मात्रै ७० अर्ब रुपैयाँभन्दा बढी क्यूआर कोड स्क्यानमार्फत भुक्तानी भइरहेको छ”, उनले भने । त्यसबाहेक मोबाइल बैंकिङ, वालेट र इन्टरनेट बैंकिङको कारोबार पनि उल्लेख्य बढेको छ । ‘जेन जी’लाई केही वर्ष अघि मात्रैसम्म पनि बिल तिर्न घण्टौ लाइनमा बस्नैपर्ने बाध्यता थियो र ? भन्ने बनाउन पनि इसेवाले ठूलो समय र लागत खर्चिएको उनको बुझाइ छ ।
अबको बाटो के त ?
खड्का भन्छन्, “हिजोका दिनमा हामीले क्यासलेस कारोबार बढाउनमा काम गर्यौ भने अब भुक्तानीलाई केन्द्रमा राखेर बचत गर्दै ग्रोतर्फ जानुपर्छ र इसेवा सेवाग्राहीका लागि वित्तीय पार्टनर बन्नसक्नुपर्छ ।” उनी इसेवाले वित्तीय समावेशिताको अवधारणामा सेवाग्राहीलाई वित्तीय रुपमा सशक्तीकरण गर्दै सहयात्री बन्ने दिशामा अग्रसर भइरहेको पनि बताउँछन् ।
खड्काका शब्दमा अब इसेवालाई पर्सनल फाइनान्स म्यानेजरदेखि सानो अंशबाटै बचत र लगानीसम्म गर्न सकिन्छ भन्ने विश्वास दिलाउँदै त्यसलाई सम्भव बनाउने काममा अघि बढाइएको छ । ग्राहकले १० पैसा वा एक रुपैयाँ मात्रै पनि लगानी गर्न सक्ने खालको इसेवा प्लेटफर्म बनाउने गरी काम भइरहेको उनको भनाइ छ । त्यसबाहेक उपभोक्ताको पर्सनलाइजेसनका एप बनाउने काम भइरहेको छ ।
“वित्तीय क्षेत्रको सबै काम मोबाइलभित्रको एउटा इसेवाको एपबाटै सम्भव छ है भन्ने बनाउनु हो र त्यो उद्देश्यप्राप्तिमा हामी पाइला अगाडि बढिसकेका छन्”, उनले भने । उनका अनुसार इसेवालाई आगामी दिनमा बजेटिङ इफिसेन्स पनि बनाउने योजना छ । जसमा आफूले कुन क्षेत्रमा कसरी खर्च भइरहेको छ भन्ने तथ्यांक राख्ने गरी फाइनान्सियल प्लानरको भूमिका पनि इसेवाले नै लिने र यसमा पनि काम भइरहेको उनले सुनाए ।
इसेवालाई वित्तीय कारोबारको सहयोगी मात्रै नभइ जीवनशैलीको अभिन्न हिस्सा बनाउनु आफूहरुको उद्देश्य रहेको उनको भनाइ छ । नगदरहित कारोबार अझ बढाउँदै डिजिटल अर्थतन्त्रको विकास गर्दै समावेशी अर्थतन्त्रको अवधारणामा काम गर्नु हो । डिजिटल कारोबारमा जाँदै गर्दा हालसम्म इसेवाले मात्रै करिब चार लाख किलो कागजको खपत गर्दै आयात घटाएको छ, यसले कार्बन उत्सर्जन कम गर्दै दिगो विकासका लक्ष्य प्राप्तिमा एउटा भए पनि इँटा थप्ने काम गरेको छ ।
“हाम्रा कारणले पनि कार्बन उत्सर्जन कम भएको छ, मानिसहरुको उत्पादकत्व समय खेर जानबाट बचेको छ, यसको प्रभाव प्रत्यक्ष रुपमा नदेखिए पनि मानिसको जीवनमा महत्पपूर्ण अर्थ राख्छ”, उनले भने ।
अनलाइन भुक्तानीको पयार्य
पछिल्लो डेढ दशकमा इसेवाले आर्जेको सबैभन्दा ठूलो सम्पत्ति उपभोक्ताको माया र विश्वास नै हो । अहिले मोबाइलबाट क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्नुको अर्थ इसेवा गर्नु भइसकेको छ । त्यसैले इसेवा कम्पनीमात्रै नभइ अनलाइन भुक्तानीको पयार्य भइसकेको छ ।
हाल मुलुकभर करिब दुई दर्जन कम्पनीले वालेटको लाइसेन्स लिएका छन् । तर त्यसमध्येका हातका औँलामा गणना गर्दा पहिलो नम्बरमा इसेवा नै आउँछ । अहिले कूल बजारको झण्डै ४० प्रतिशत हिस्सा इसेवाले नै ओगटेको छ । नेपालमा डिजिटल वालेटको जग बसाल्नेदेखि दूरदराजसम्म वित्तीय पहुँच र साक्षरता स्थापना गर्नका लागि यसले ठूलो भूमिका निर्वाह गरेको छ ।
इसेवाकै कारण विजुली र खानेपानीको बिल भुक्तानीका लागि घण्टौको समय खर्चिनु परेको छ्रैन । रेष्टुरेन्ट र फिल्म हलमा जाँदा गोजीमा पैसा बोक्नु परेको छैन । कतै यात्रा गर्दा बस र हवाई टिकटका लागि ट्राभल एजेन्सीमा धाउनु परेको छैन । हातमा भएको मोबाइलबाटै निमेषभरमै आफू अनुकुलको काम गर्न सहज बनाइदिएको छ । यसले मानिसको जीवनमा ल्याएको सहजता नै इसेवाले आजका दिनमा कमाएको सम्पत्ति हो भन्छन्, सीइओ खड्का ।
बढ्दै सचेतना, घट्दो आपराधिक घटना
खड्काको अनुभवमा पछिल्लो समय वित्तीय अपराध गर्नेहरुको संख्या घट्दै छ । यसो हुनुको पछाडि बढ्दो वित्तीय साक्षरता र सचेतना भएको उनको बुझाइ छ । “कुनै समय चिठ्ठी पठाएर मात्रै चिठ्ठा पर्यो भन्ने समयबाट अनलाइनबाटै भ्रम सृजना गरी ठगी हुने क्रम थियो, अब त्यो पनि घट्दो क्रममा छ”, उनले भने, “आम मानिसमा वित्तीय सुरक्षाबारेको सचेतना बढ्दै जाँदा उजुरीको संख्या हेर्दा यो घटेको देखिन्छ ।”
खड्काका शब्दमा यसप्रकारका घटनामा कहिलेकाँही इसेवाको नाम पनि जोडिएर आएको हुन्छ । तर यो समस्या इसेवाको सुरक्षा प्रणााली कमजोर भएर वा हेलचेक्राइका कारण भएको होइन । उनी यसका पछाडि तीन कारण हो भन्छन्– लोभ, वेवास्ता र डर ।
“सुरक्षाको कुरामा हामी हिजोका दिनमा पनि बलियो थियौँ, आज पनि छौँ र भोलिका दिनमा पनि हुनेछौँ । हामीसँग भएको तीन तहको डाटा सेन्टर, अन्तर्राष्ट्रिय स्तरको सोलुसन र विश्वासिलो भेन्डर हामीलाई सुरक्षित राख्ने आधार हुन्”, उनले भने, “हाम्रो आन्तरिक प्रणालीमा पनि फायरवाल बिना कुराकानी सम्भव हुँदैन, यद्यपि बढ्दो प्रविधिको विकासमा यो पर्याप्त नहुनसक्छ तर कमजोर भने छैन ।”
उनी यसप्रकारका घटना ह्याकिङका कारणले नभइ ठगीका कारण भएका हुन् । “कतिपयलाई लक्की ड्रको लोभ देखाइएको छ, कतिपयसँग जानकारी नभएको फाइदा उठाउने पनि धेरै छन् भने केही अवस्थामा डर सृजना गरेर भए पनि ठगी भइरहेको छ”, उनले भने, “यद्यपि पछिल्लो समय यसबारे बढ्दो जानकारी र सतर्कताले घटनामा कमी उल्लेख्य कमी आएको पाइएको छ ।”
त्यति मात्रै होइन, इसेवाका सेवाग्राहीहरु जेन्युन होउन भन्नका लागि पुनःपरीक्षण गर्न विभिन्न औजार प्रयोग गरिएको छ । जस्तै पछिल्लो समय केवाईसीका हकमा एआईको प्रयोगले ठूलो सहयोग मिलेको छ । अनलाइनबाट केवाईसी भर्दा प्रत्यक्ष तस्बिर लिनुपर्ने हुन्छ, ग्यालरीबाट फोटो लिन पाइँदैन ।
यदि अपलोड गरिने नागरिकतालगायतका कागजपत्रमा कीर्ते वा छेडखानी भएको छ भने शतप्रतिशत रुपमा त्यो स्वीकार्य हुँदैन । नाम, ठेगाना र अन्य वैक्तिक विवरणसँग कागजपत्र मिलेन भने पनि केवाईसी पूरा हुँदैन । भोलिका दिनमा सरकारसँग सहकार्य गर्न सकियो भने मोबाइल नम्बर पनि आफ्नै नाममा हुनुपर्ने लगायतका व्यवस्था पनि ल्याउन सकिने उनको बुझाइ छ ।
केवाईसी भर्दा मात्रै होइन, हामी प्रत्येक ओटीपी पठाउने समयमा पनि दोहोरो परीक्षणका साथै पटक–पटक सतर्क पनि बनाइरहेको उनको भनाइ छ । “इसेवामार्फत ओटीपी जाँदा अहिले सिधै मोबाइल नम्बरमा आउँदैन, सिस्टमबाट म्यासेज जेनेरेट हुन्छ र त्यो पठाएपछि मात्रै ओटीपी आउँछ”, उनले भने, “ओटीपीसँगै एउटै म्यासेजमा तीन ठाउँसम्म ओटीपी कसैलाई नदिनु, गोप्य राख्नु समेत भनिरहेका हुन्छौँ, यदि हुँदाहुँदै पनि वेवास्ताका कारण घटना घटेका छन् ।”
खड्काका अनुसार अहिले सचेतनाका लागि विद्यालयदेखि नै काम भइरहेको छ । विद्यालयमै गएर कक्षा ७ देखिभन्दा माथिका विद्यार्थीलाई अनलाइनबाट कसरी ठगी भइरहेको छ, त्यसबाट कसरी बच्ने, पासवर्डलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा काम गरिहेको उनको भनाइ छ । त्यसबाहेक प्रविधिलाई पनि अझ बलियो बनाउँदै लगेका छौँ ।
त्यति मात्रै होइन, यदि कुनै इसेवाको खातामा अस्वभाविक कारोबार भइरहेको छ भन्ने थाहा भयो भने मात्रै पनि भेरिफाइ गरी खाता नै ब्लक गर्ने सम्मका काम पनि कम्पनीले गरिरहेको सीइओ खड्काको भनाइ छ । “खाता खोल्ने वित्तिकै फन्ड ट्रान्सफर हुन थाल्यो, शंकास्पद कारोबार बढ्दै गयो भने हामी आफैले पनि परीक्षण गरेर फ्रड भइरहेको छ भन्ने निष्कर्ष निस्कियो भने ब्लक गर्ने गरेका छौँ, यसका लागि हामीसँग आफ्नै नियम पनि छ”, उनले भने ।
आफै सचेत हुन जरुरी
अनलाइन कारोबारमार्फत हुने ठगीका प्रकारमा पनि विविधता रहँदै आएको छ । जस्तै कसैले भ्रममा पारेर फकाइफुल्याइ ठगी गरेको छ भने पछिल्लो समय गैरकानुनी रकम रकमान्तर गर्न लगाएर पनि सम्पत्ति शुद्धीकरणलगायतका काम भइरहेका छन् ।
यसप्रकारका घटनामा व्यक्ति जानेर वा नजानेर सम्पत्ति शुद्धीकरण जस्तो गैरकानुनी काममा सहभागी भएको छ । त्यसैले प्रयोगकर्ताले पनि आफ्नो खाता सञ्चालनमा अरुको सलंग्नता नगर्नु नै राम्रो हुन्छ । अनलाइनमा आउने यसप्रकारका स्किमबाट बच्नका लागि व्यक्ति आफै पनि सचेत हुनु उत्तिकै जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्