Skip to content

मास टुरिजम मन नपराएको स्पेनमा विदेशीलाई  घर किन्दा शतप्रतिशत कर

nabil bank
एजेन्सी । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले आवास संकट समाधानका लागि विदेशीहरूले खरिद गर्ने घरमा शतप्रतिशत कर लगाउने प्रस्ताव गरेका छन् । गैर–युरोपेली संघका नागरिकलाई लक्षित यो करले विदेशी खरिदकर्ताहरूलाई हतोत्साहित बनाउने अनुमान गरिएको छ ।
सञ्चेजले भने, “स्पेनको आवास स्पेनी नागरिक र यहाँ बसोबास गरी देशको समृद्धिमा योगदान गर्ने आप्रवासीहरूका लागि हुनुपर्छ । विदेशी खरिदकर्ताहरूले आवासलाई लगानीका साधनका रूपमा उपयोग गरेका छन्, जुन अभावको अवस्थामा स्वीकार्य हुन सक्दैन ।”
स्पेनको आवास बजारमा सन् २०२३ मा ८.३ प्रतिशतको मूल्य वृद्धि भएको छ । सन् २०२४ को तेस्रो त्रैमासिकमा कुल सम्पत्तिको १५ प्रतिशत विदेशीले खरिद गरेका थिए ।  देशमा सन् २०२५ सम्म ६ लाख नयाँ आवासको आवश्यकता रहेको बैंक अफ स्पेनले जनाएको छ, तर वार्षिक रूपमा ९० हजार  मात्र निर्माण भइरहेको छ ।
सञ्चेजले अत्यधिक माग भएका क्षेत्रमा भाडा सीमा तोक्ने, नयाँ आवास निर्माण प्रक्रिया तीव्र बनाउने, र सामाजिक आवासको संख्या बढाउने योजना सार्वजनिक गरेका छन् ।
सामाजिक आवास अहिले स्पेनको आवास बजारको मात्र २.५ प्रतिशत हिस्सा ओगटेको छ, जुन फ्रान्स र नेदरल्यान्ड्सको तुलनामा निकै कम हो ।
छोटो अवधिका पर्यटक आवासलाई उच्च कर दायरामा ल्याउने र सुनौलो भिसा कार्यक्रम खारेज गर्ने प्रस्ताव गरिएको छ। सुनौलो भिसाले ५ लाख युरोभन्दा बढीको सम्पत्ति खरिद गर्ने गैर–युरोपेलीलाई निवास अनुमति दिन्थ्यो ।
स्पेन विश्वको दोस्रो सबैभन्दा बढी भ्रमण गरिने देश हो । सन् २०२४ मा ९४ मिलियनभन्दा बढी पर्यटकले भ्रमण गरेको यस देशले पर्यटनबाट २०० अर्ब डलर आम्दानी गरेको छ, जुन देशको कुल गार्हस्थ उत्पादनको १३ प्रतिशत हो ।
स्पेनका बासिन्दाहरूले मास पर्यटनका कारण हुने समस्याहरू जस्तै गेन्ट्रीफिकेसन, जीवनयापनको लागत वृद्धि, र पार्टी गर्ने पर्यटकहरूको असभ्य व्यवहारप्रति असन्तुष्टि जनाएका छन् । यद्यपि, स्पेनको आवास संकट सिर्जना गर्न पर्यटन मात्र जिम्मेवार छैन ।
सन् २००८ को आवास संकट र त्यसपछिको आर्थिक मन्दीले पनि यो समस्या झन् जटिल बनाएको छ । सन् २००८ देखि २०१४ सम्म स्पेनले एक प्रमुख आर्थिक संकट सामना गरेको थियो, जसमा लामो समयसम्म चल्ने आवास बजारको गिरावट पनि समावेश थियो ।
युरोपेली केन्द्रीय बैंकको एक कार्यपत्रका अनुसार, २०१५ सम्ममा घरको मूल्य २००८ को उच्चतम विन्दुबाट एक तिहाइले घटेको थियो र नयाँ घरहरू निर्माण हुने अवस्था लगभग थिएन ।
यी प्रस्ताव कार्यान्वयन गर्न संसद्को अनुमोदन आवश्यक छ । सान्चेजको अल्पमत सरकारका लागि यो चुनौतीपूर्ण हुनेछ ।  स्पेनको आवास संकट समाधानका लागि यी कदमहरू पर्याप्त हुने वा नहुने विषयमा बहस जारी छ। आवास समस्या समाधानमा सरकारले तत्काल कदम चाल्नुपर्ने माग स्थानीयहरूको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime