Skip to content
Prabhu

डिवान र पाटन बारको आयोजनामा ‘ब्रिजिङ बैंकिङ’ एण्ड लअ्जः रोल्स एण्ड रेस्पोन्सबिलिटज् अफ लिगल प्राक्टसिनर्स’ गोष्ठी सम्पन्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन, पाटन र डेभलपमेण्ट बैंकर्स एसोसिएसन (डिबान) नेपालको संयुक्त आयोजनामा ‘ब्रिजिङ बैंकिङ एण्ड लअ्जः रोल्स एण्ड रेस्पोन्सबिलिटज् अफ लिगल प्राक्टसिनर्स’ बिषयको कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

उच्च अदालत वार एसोसिएसन, पाटनका अध्यक्ष विदुरप्रसाद ढुंगानाको अध्यक्षता र महान्यायाधिवक्ता रमेश बडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यशालामा बैंकिङ विज्ञ बीएन घर्ती र अधिवक्ता प्रविण पौड्यालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

global
अर्घाखाँची सिमेन्ट

वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा बैंकर्ससमेत गरी करिब ४०० पेसाकर्मी उपस्थित रहेको उक्त कार्यक्रमलाई उच्च अदालत वार एसोसिएसनका सचिव प्रबल शर्माले सञ्चालन गरेका थिए । डेभलपमेण्ट बैंकर्स एशसोसिएन नेपालका प्रमुख कार्यकारी अधिकृत मन्जिला डंगोलले कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए । उच्च अदालत वार एसोसिएसन, पाटनका अध्यक्ष विदुरप्रसाद ढुंगानाले हामी कानुन व्यवासायीहरुले बैंकिङसम्बन्धी प्राविधिक शब्दहरुमा प्रष्ट रुपमा नबुझ्दा सोही अनुसार बहस गर्न अप्ठ्यारो पर्ने गरेको र पिडितपक्षलाई सोही अनुसारको कानुनी सेवा प्रदान गर्दा अप्ठ्यारो महसुस भएकाले डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालसंगको साझेदारीमा यो कार्यशालाको आयोजना गरिएको बताए ।

कर्जा प्रवाह गरी आर्थिक विकास गर्न, रोजगारी सिर्जना गर्न र सेवाग्राहीलाई आवश्यक बैंकिङ सेवा दिनका लागि हरदम प्रयास गर्दागर्दै र सरकारलाई अर्बौंको राजस्व र कर तिर्दै आएतापनि बैंक तथा वित्तीय संस्थालाई अनावश्यकरुपमा विवादमा तान्ने गरिएको टिप्पणी गर्दै घर्तीले भने, ‘अहिले बैंकहरुको निष्कृय कर्जा बढ्दै गइरहेको छ । कर्जा निष्क्रिय वा खराब हुने बित्तिकै बैंकिङ कसुर गरिएको भन्ने हुँदैन ।

त्यहाँनिर नियतलाई प्रष्टरुपमा हेरिनु पर्दछ । त्यतिमात्र होइन, बैंकिङसम्बन्धी प्राविधिक शब्दहरुका बारेमा प्रष्टरुपमा नबुझ्दा कतिपय नलगाउनुपर्ने मुद्दा लगाइएको छ । बैकिङ्ग सम्बन्धी प्राबिधिक शव्दहरुको गलत अर्थ लगाएर मुद्दाको अभियोजन गर्ने गरिएको देखिएको छ ।

घरजग्गा धितोलाई मात्र धितो ठान्ने गरिएको अबस्था पनि देखिएको छ । घरजग्गा धितो मूल्यांकनका लागि मार्गदर्शन नभएकाले बैंक तथा वित्तीय संस्थाबीच धितो मूल्यांकनमा एकरुपता छैन । घरजग्गगा धितोको कारण नै असल नियतले कार्य गरेका कतिपय कर्मचारीलाई मुद्दा लाग्ने गरेको पाइएको छ । धितो लिलामी र सकार गर्दा बैंकहरुले समस्या भोगिरहेका छन् । बैंकर्समा त्रासको अवस्था रहेको छ । त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने अबस्था रहेको छ ।’

अर्का कार्यपत्र प्रस्तोता अधिवक्ता प्रविण पौड्यालले सहयोग प्राप्त हुनुपर्ने सरकारी निकायबाट बैंकहरुले आवश्यक सहयोग प्राप्त गर्न नसकेको, ऐनमा भएको व्यवस्था, सर्वोच्च अदालतले गरेका फैसलाको नजिर र नेपाल राष्ट्रले जारी गर्ने निर्देशनकाबीच तादम्यता मिलाउनु पर्ने आवश्यक्ता रहेको उल्लेख गर्दै निक्षेपकर्ताको हित संरक्षणका लागि विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

प्रमुख अतिथि महान्यायाधिवक्ता रमेश बडालले चेक अनादरसँग सम्बन्धित घटनामा मिलापत्र गर्ने, कर्जा चुक्ता गरिएको हकमा मुद्दा नलगाउने र असल नियतले कार्य गर्ने सम्बन्धित सबैलाई मुद्दाको झमेला पर्नबाट जोगाउने कार्य गर्नका लागि आफूहरु कटिबद्ध रहेको उल्लेख गर्दै कार्यपत्र प्रस्तुतकर्ताहरुले दिएको सुझाबलाई कानुन संशोधनको समयमा यथेष्ट ध्यान दिइने उल्लेख गरे ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रमुख टिप्पणीकर्ता सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल सिन्हाले समसामियक विषयमा कार्यशालाको आयोजना गरिएकोमा दुवै आयोजकको प्रशंसा गर्दै कर्जा लिएपछि कर्जाको सही सदुपयोग गर्नुपर्ने र कर्जा तिर्नुपर्ने बताए । कानुनमा भएका अव्यवहारिक पाटाहरुलाई हटाउँदै जानुपर्ने र सार्वजनिक पदमा रहेका व्यक्तिले कानुनको परिपालना गर्दा गराउँदा लापरवाहीपूर्ण नहोस् भन्नेमा विशेष सजग हुनुपर्ने उल्लेख गरे ।

नेपाल वार एसोसिएसनको महासचिव अन्जिता खनाल र उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश लालबहादुर कुँवर समेतले आफ्ना धारणा राखेको उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा पूर्वमहानिवक्ता सुशील पन्त तथा वरिष्ठ अधिवक्ता महेश थापाले समेत कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal