Skip to content
Prabhu

बजेट अभावले भवन निर्माणमा विलम्ब

डोटी । बजेट अभावमा जिल्ला अस्पताल डोटीको भवन निर्माण कार्यमा विलम्ब भएको छ । २५ शय्यामा सञ्चालित उक्त अस्पतालको स्तर वृद्धि गरी ५० शय्याको बनाउने उद्देश्यले २०७७ सालदेखि भवन निर्माण गर्न थालिएको हो । हालसम्म पनि सो भवन निर्माण सम्पन्न हुन सकेको छैन ।

सङ्घीय विशेष अनुदानतर्फको आव २०७७÷७८ मा बजेट विनियोजन भएपछि २०७७ फागुन ७ गते अस्पतालले १० करोड २७ लाख रुपैयाँमा भवन निर्माण गर्न ‘केयस कन्स्ट्रक्सन धनगढी कैलाली’सँग सम्झौता गरेको थियो ।

उक्त सम्झौताअनुसार २०७९ फागुनसम्म सो भवन निर्माण गरिसक्नुपर्ने थियो । कोभिड–१९ र मूल्य वृद्धिको कारण देखाउँदै निर्माण व्यवस समयमै काम सम्पन्न गर्न नसकेपछि २०७९ फागुनमा २०८० माघसम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा पनि काम सम्पन्न भने हुन सकेन । अहिलेसम्म भवनको भौतिक प्रगति ९२.७५ प्रतिशत रहेको छ ।

निर्माणमा संलग्न व्यवसायीलाई आठ करोड ६५ लाख रुपैयाँ भुक्तानी गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुजितकुमार मण्डलले बताए । चालू आर्थिक वर्षमा उक्त भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छैन ।

भवन निर्माण सम्पन्न गर्न आवश्यक रकम व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयदेखि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म धाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले बताए । तर, अहिलेसम्म बजेट सुनिश्चित हुन नसकेको उनको भनाइ छ ।

‘भवन अभावले अस्पतालका सेवा प्रभावित भइरहेका छन्’, डा मण्डलले भने । भवन अभावका कारण अस्पतालले बाल पोषण गृह, स्तनपान कक्ष, शल्यक्रिया कक्षलगायतको व्यवस्था गर्न नसकेको उनले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal