काठमाडौं । बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण आर्थिक वर्ष सकिएको ६ महिना भित्र नेपाल बीमा प्राधिकरणमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । ६ महिनाको समय सीमा पारे गरेको खवस्थामा बीमा कम्पनीहरुलाई आर्थिक जरिबाना गरिने व्यवस्था रहेको छ । कुनै पनि बीमा कम्पनीले आर्थिक वर्षका सकिएको ६ महिना पूरा भएको एक हप्तापछि विवरण पेस गर्दा दैनिक रुपमा २५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था कानुनमा रहेको छ ।
बीमा ऐनको दफा १३८ अनुसार आर्थिक वर्ष सकिएको ६ महिना समाप्त भएको एक हप्तासम्म विवरण पेस नगर्ने कम्पनीलाई दैनिक २५ हजार रुपैयाँका दरले जरिवाना लाग्ने व्यवस्था रहेको छ । त्यस्तै २ हप्ता नाघेमा दैनिक ५० हजार रुपैयाँका दरले २ हप्ताभन्दा बढी समय पार गरेमा दैनिक १ लाख रुपैयाँका दरले जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । तर अहिले सञ्चालमा रहेका ३५ वटा बीमा कम्पनी र दुईवटा पुनर्बीमा कम्पनीसहित ३७ वटा मध्ये ११ वटाले मात्रै प्राधिरणमा विवरण पेश गरेका छन् । २६ वटा बीमा कम्पनीले अझै पनि आफ्नो वित्तीय विवरण पेस गर्न नसकेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
पुस मसान्तसम्मा पेस गरिसक्नु पर्ने वित्तीय विवरण माघको दोस्रो साता बितिसक्दा समेत केही कम्पनीले वित्तीय विवरण पेस गर्न सकेका छैनन्। अब उनीहरुलाई ऐनबमोजिम कारबाही गर्नुपर्ने हुन्छ । तर, बीमा प्राधिकरणले भने यो यो कानुनलाई कार्यान्वयन गर्नेभन्दा पनि कम्पनीहरुप्रति निकै उदार देखिन्छ । बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले यो वर्ष केही ढिला भए पनि अर्को वर्ष समयमा नै विवरण आउने जबाफ दिए । ‘यो वर्ष एक्चुअल विवरण नआउँदा केही ढिलाई भएको हो अर्को वर्ष समयमा नै हुन्छ,’ प्रवक्ता सुवेदीले लगानी न्यूजसँगको कुराकानीका क्रममा भने । यो विषयमा छुट दिने भन्ने व्यवस्था नभएकाले अधिकांश कम्पनीले जरिवाना तिर्ने प्रवक्ता सुवेदीको भनाइ छ ।
तर, ऐनको दफा १३९ मा प्राधिकरणले दफा १३८ बमोजिम गरिवाना गर्नुअघि सम्बन्धित बिमक वा बीमा सेवा प्रदायकलाई जरिवाना सम्बन्धमा आफ्नो सफाइ पेस गर्न ७ दिनको म्याद दिई लिखित सूचना दिनुपर्ने व्यवस्था रहेको छ । सोही दफाको उपदफा (३) मा उपदफा (२) बमोजिम लिखित पेस भएको सफाइ चित्त बुझ्दो देखिएमा प्राधिकरणले त्यस्तो कारबाही वा जरिवाना संशोधन गर्न वा खारेज गर्न सक्नेछ भनिएको छ ।
प्राधिकरणका अनुसार हालसम्म सिटिजन लाइफ, आईएमई लाइफ, मेटलाइफ, सूर्यज्योति लाइफ, नेपाल लाइफ, सानिमा जीआईसी, शिखर इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै वित्तीय विवरण पेस गरेका छन् । वित्तीय विवरण पेस गरेकामध्ये केहीको विवरण स्वीकृतसमेत भइरहेको छ ।
हालसम्म ९ वटा जीवन बीमा कम्पनी, १० वटा निर्जीवन बीमा कम्पनी, ५ वटा लघु बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनीहरुले वित्तीय विवरण पेस गर्न गरेका छैनन् । हालसम्म पनि जीवन बीमा कम्पनीहरूमा एसियन लाइफ, लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपाल, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, नेसनल लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, हिमालयन लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले माघ महिनाको दोस्रो साता वित्दासम्म पनि वित्तीय विवरण पेस गर्न सकेका छैनन् ।
यसैगरी, निर्जीवनतर्फ ओरिएन्टल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, राष्ट्रिय जीवन बीमा कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, यूनाइटेड अजोड, नेशनल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले पुस मसान्तसम्म वित्तीय विवरण पेस गरेका छैनन् ।
यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सले वित्तीय विवरण पेस गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्