Skip to content

पुनर्बीमा कम्पनीको पुँजी वृद्धि : हकप्रद र बोनस सेयर, एक वर्षमै पुर्याउन सक्लान आवश्यक पुँजी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुईवटा पुनर्बीमा कम्पनीलाई आवश्यक पुँजी पुर्‍याउनका लागि एक वर्ष समय थप गरेको छ । सञ्चालनमा रहेको दुई पुनर्बीमा कम्पनीले यही माघ १८ गतेसम्म प्राधिकरणले तोकेको आवश्यक पुँजी पुर्याउने समय दिएको थियो । तर, प्राधिकरणले समय सकिनुभन्दा अघि नै पुनर्बीमा कम्पनीहरुलाई पुँजी वृद्धि गर्ने समय थप गरेको हो ।

यो सँगै अब पुनर्बीमा कम्पनीले आफ्नो चुक्ता पुँजी वृद्धि गर्ने समय २०८२ सालको माघ १८ गतेसम्मको समय पाएका छन् । योसँगै अब अहिले सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र हिमायलन रि इन्स्योरेन्स (हिमालयन रि) अर्को वर्षको माघ १८ गतेसम्म पुँजी पुर्‍याउनु पर्ने हुन्छ । दुईवटा पुनर्बीमा कम्पनीलाई बीमा प्राधिकरणले २० अर्व रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

एक वर्षमा पुँजी पुर्‍याउनु पर्ने गरि प्राधिकरणले समय दिए पनि अन्तिम समयमा आएर उक्त समय थप गरेको हो । दुई पुनर्बीमा कम्पनीमध्ये अहिले सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने हिमालयन रिको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ । नेपाल रिले यो एक वर्षको अवधिमा ६ अर्ब ५८ करोड रुपैयाँ पुँजी वृद्धि गर्नुपर्ने हुन्छ । त्यस्तै हिमालयन रिले यो अवधिमा ९ अर्ब ६० करोड रुपैयाँ थप्नु पर्ने हुन्छ ।

यी दुबै कम्पनीले आईपीओ जारी गरिसकेकाले अब यी कम्पनीले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने र बोनस सेयर वितरण गर्नु पर्ने हुन्छ । यी दुईबाहेक पुँजी वृद्धिका लागि कुनै विकल्प नै छैन । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीलाई अर्थ मन्त्रालयले पुँजी थपेर पनि आवश्यक पुँजी पुर्‍याउन सक्ने विकल्प रहेको छ । तर, अर्थमन्त्रालयले पुँजी थप्ने सम्भावना कम रहेको बताइएको छ । जसले गर्दा यो कम्पनीलाई पनि हकप्रद सेयर जारी गर्ने र बोनस वितरण गरेर पुँजी पुर्याउनुपर्ने देखिन्छ ।

जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुलाई पनि बीमा प्राधिकरणले एक वर्षको समय दिएर पुँजी वृद्धिका लागि समय दिएको थियो । तर, अहिले पनि धेरै कम्पनीहरुले पुँजी पुर्‍याउन सकेका छैनन् । प्राधिकरणले उनीहरुलाई पनि समय थप गरिरहेको छ । धितोपत्र बोर्डबाट हकप्रद जारी गर्नका लागि स्वीकृति नपाएका कारण बीमा कम्पनीहरुले पुँजी पुर्याउन नसकेको बताइरहेका छन् । बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) ले २०७८ सालको चैत महिनामा जीवन बीमा र निर्जीवन बीमा कम्पनीलाई पुँजी वृद्धि गर्नका लागि एक वर्षको समय दिएको थियो । त्यसपछि बीमा कम्पनीहरु मर्जमा गएर पनि केहीले पुँजी पुर्‍याए भने केहीले अझैसम्म पनि आवश्यक पुँजी जुटाउन सकेका छैनन् ।

पुनर्बीमा कम्पनीको हकमा पनि सुरुमा एक वर्ष भनेर अहिले फेरि एक वर्ष थप गरिएको छ । बीमा कम्पनीलाई जस्तै पुनर्बीमा कम्पनीलाई पनि त्यसैगरी समय थप त हुने होइन भनेर आशंका पनि उत्पन्न भइरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्