काठमाडौं । सरकारले कृषि बालि तथा पशुधन कृषकहरूको बीमा रकम भुक्तानी गर्न ८० करोड रुपैयाँ नेपाल बीमा प्राधिकरणको खातामा पठाएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलिले यस्तो बताएका हुन् ।
‘कृषि बालि तथा पशुधनमा बीमा समावेश भएका हजारौं कृषकको बीमा बापतको रकम भुक्तानी गर्ने ८० करोड रकम नेपाल बीमा प्राधिकरणको खातामा पठाइएको छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने । ओलीले बैठकमा देशको कृषि, अर्थतन्त्र र निर्माण क्षेत्रका समसामयिक समस्यामा सरकारको कदमको समीक्षा गर्दै सकारात्मक प्रगति भएको बताए । ‘धेरै समयदेखि ३५ जिल्लाका कृषकलाई सरकारले एक सय दिन भित्रै भुक्तानी गरेका छौं,’ उनले भने ।
‘७५ हजार उखु किसानहरूले पनि आफ्नो पसिनाको मूल्य पाउन सकेका छन्, जसले वर्षौंदेखि अनुदानको रकम पाएका छैनन्’ उनले थपे । सरकारले अर्थतन्त्रको सुधारका लागि विभिन्न चुनौतीहरूको सामना गर्दै सकारात्मक परिणामहरू देखाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजस्व संकलन १३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा देशको अर्थतन्त्र सकारात्मक बाटोमा लम्किरहेको छ ।’
त्यस्तै, उनले नेप्से परिसूचक, आयात, निर्यात, विदेशी विनियम सञ्चिति, कर्जा वृद्धिमा सरकारले उल्लेखनीय काम गरेको उल्लेख गरे । अर्थतन्त्रमा भयावह अवस्था छैन भन्दै उनले अर्थतन्त्रका सुचकहरू सही छन् र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान गरिरहेको बताए ।






प्रतिक्रिया दिनुहोस्