एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा कानुनी सम्झौतामा हस्ताक्षर गरेका छन्, जसअनुसार फेसबुक र इन्स्टाग्रामका मालिक मेटाले करिब २५ मिलियन डलर अर्थात झण्डै तीन अर्ब रुपैयाँ तिर्ने भएको छ ।
ट्रम्पले सन् २०२१ मा ६ जनवरीको क्यापिटल दंगापछि आफ्ना सामाजिक सञ्जाल खाताहरू निलम्बन गरिएपछि मेटा र यसको प्रमुख कार्यकारी मार्क जुकरबर्गविरुद्ध मुद्दा दायर गरेका थिए । सन् २०२४ को जुलाईमा, अमेरिकी राष्ट्रपति चुनावको तयारीमा, मेटाले अन्ततः ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामा लगाइएको अन्तिम प्रतिबन्ध हटाएको थियो ।
यो कानुनी सम्झौताबारे पहिलो पटक वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको थियो । करिब २२ मिलियन डलर ट्रम्पको राष्ट्रपति पुस्तकालयको कोषमा जानेछ भने बाँकी रकम कानुनी शुल्क र मुद्दामा संलग्न अन्य वादीहरूको लागि प्रयोग गरिनेछ । मेटाले कुनै गलत काम गरेको स्वीकार भने गर्ने छैन ।
जुकरबर्ग र ट्रम्पको सम्बन्धमा सुधार ?
मेटाले २०२१ मा ट्रम्पका सामाजिक सञ्जाल खाताहरू निलम्बन गरेको थियो र कम्तीमा दुई वर्ष प्रतिबन्ध लगाउने बताएको थियो । तर, ट्रम्पको नोभेम्बरमा भएको निर्वाचन विजयपछि, मेटाका सीईओ जुकरबर्ग फ्लोरिडास्थित ट्रम्पको रिसोर्ट, मार–ए–लागोमा पुगेका थिए । यस कदमलाई उनीहरूबीचको चिसोपन कम हुँदै गएको सङ्केतका रूपमा हेरिएको छ ।
त्यसपछि, डिसेम्बरमा मेटाले ट्रम्पको पदस्थापनाका लागि बनाइएको कोषमा एक मिलियन डलर दान गरेको थियो। जनवरीमा ट्रम्पको सपथ ग्रहण समारोहमा जुकरबर्ग अन्य प्रविधि क्षेत्रका अर्बपतिहरूसँगै उपस्थित थिए ।
ट्रम्पको सामाजिक सञ्जालसँगको टकराव
ट्रम्पले वर्षौंदेखि जुकरबर्ग र फेसबुकलाई आलोचना गर्दै आएका थिए । उनले सन् २०१७ मा फेसबुकलाई एण्टी–ट्रम्प भनेका थिए । उनको खाता प्रतिबन्धित भएपछि ट्रम्प र फेसबुकको सम्बन्ध झन् बिग्रिएको थियो । मार्च २०२४ मा उनले फेसबुकलाई जनताको दुस्मन भन्दै आलोचना गरेका थिए ।
ट्विटर (हालको एक्स) ले पनि सन् २०२१ मा ट्रम्पलाई स्थायी रूपमा प्रतिबन्ध लगाएको थियो । तर, एलन मस्कले कम्पनी ४४ अर्ब डलरमा खरिद गरेपछि, सन् २०२२ मा साइटमा गरिएको एक सर्वेक्षणमा प्रयोगकर्ताहरूले ट्रम्पको खाता पुनःस्थापित गर्न समर्थन जनाएपछि उनलाई पुनः प्लेटफर्ममा ल्याइएको थियो ।
अर्कोतर्फ, बुधबार मेटाले आफ्नो ६५ अर्ब डलरको कृत्रिम बुद्धिमत्ता एआई लगानीको बचाउ गरेको छ । हालै चिनियाँ एआई एप डीपसिकको अप्रत्याशित रूपमा लोकप्रियता बढेपछि अमेरिकी प्रविधि कम्पनीहरूमा असर परेको छ ।
जुकरबर्गले लगानीकर्ताहरूसँगको कुराकानीमा डीपसिकबाट धेरै कुरा सिक्न सकिने बताएका छन् । तर, उनले अहिले नै यसको प्रभावबारे निश्चित धारणा बनाउन नसकिने बताए ।
प्रतिक्रिया दिनुहोस्