Skip to content
Prabhu

छ महिनामा अर्थतन्त्रका बाह्य पक्ष बलियो, आन्तरिक सूचकमा दबाब कायमै

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालको अर्थतन्त्रमा विस्तारै सुधार हुदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो समय अर्थतन्त्रको आन्तरिक सूचकमा केही दबाब देखिए पछि बाह्य क्षेत्र भने बलियो देखिएको हो ।
अर्थतन्त्रका बाह्य क्षेत्रहरुमा रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति बढेको छ । अहिले विदेशी मुद्राको सञ्चिति २३ खर्ब माथि पुगेको छ भने ६ महिनामा साढे ७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार ६ महिनाको अवधिमा मंहगी भने बढेको छ । यो अवधिमा वैदेशिक व्यापार पनि ठूलो खाडल कायमै रहेको छ ।

रेमिट्यान्स ७ खर्ब माथि

global
अर्घाखाँची सिमेन्ट

चालु आर्थिक वर्षको पुष समान्तसम्मको अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७ खर्ब ६३ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ र्ख ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।

विदेशी मुद्रा सञ्चिति २३ खर्ब

नेपालको विदेशी मुद्रा सञ्चिति २३ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अवधिमा विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशत बढेर २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत असारसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा गत असारमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । ६ महिनामा १२.१ प्रतिशत बढेर पुससम्म २० खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असारमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा पुसमा २७ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । पुससम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ । २०८१ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल ग्राहस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४०.६ प्रतिशत, १२०.३ प्रतिशत र ३२ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

शोधनान्तर स्थिति २ खर्ब ४९ अर्बले बचतमा

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको छ ।

आयात–निर्यातको अवस्था

६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो । आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको छ ।

महँगी बढ्यो

चालु आर्थिक वर्षको पुस महिनासम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७३ प्रतिशत, मधेश प्रदेशको ५.९६ प्रतिशत, बागमती प्रदेशको ५.१४ प्रतिशत, गण्डकी प्रदेशको४.३७ प्रतिशत, लुम्बिनी प्रदेशको ४.८३ प्रतिशत, कर्णाली प्रदेशको ४.६० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६७ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०३ प्रतिशत, तराईको ५.६० प्रतिशत, पहाडको ५.४१ प्रतिशत र हिमालको ५.२७ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०८१ पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३६ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूमा २ खर्ब ३९ अर्ब निक्षेप

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ३९ अर्ब ६ करोड (३.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ खर्ब ७७ अर्ब ७ करोड (६.६ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.९ प्रतिशतले बढेको छ ।

२०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.८ प्रतिशत, २६.७ प्रतिशत र ५९.९ प्रतिशत रहेको थियो
२०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ । २०८० पुस मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत रहेको थियो ।

वैदेशिक व्यापारको संरचना

वृहत् आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४०.४ प्रतिशत र ५८.८ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात ०.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५.९ प्रतिशत, ०.२३ प्रतिशत र ४३.९ प्रतिशत रहेको थियो ।

यता, कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५०.२ प्रतिशत पुँजीगत वस्तुको अनुपात ८.८ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ४९.२ प्रतिशत, ८.७ प्रतिशत र ४२.१ प्रतिशत रहेका थिए ।

कर्जा प्रवाह

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ६५ अर्ब ५६ करोड (५.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९२ अर्ब ६४ करोड ( ४.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७० प्रतिशतले बढेको छ ।

२०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.२ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal